सुदूरपश्चिममा ओल्केको रौनक, ‘बूढी’ गाड्ने परम्पराले निरन्तरता पाउँदै

१ भाद्र २०८३, सोमबार १५:४०

काठमाडौँ । सुदूरपश्चिममा भदौ सङ्क्रान्तिका अवसरमा मनाइने मौलिक लोकपर्व ओल्के आज हर्षोल्लासका साथ मनाइँदैछ । भदौ १ गते मनाइने यो पर्वले धार्मिक आस्था, सामाजिक सद्भाव र स्थानीय मौलिक संस्कृतिलाई जोड्ने महत्वपूर्ण भूमिका खेल्दै आएको छ । पर्वका अवसरमा सुदूरपश्चिम प्रदेश सरकारले आज प्रदेशभर सार्वजनिक बिदासमेत दिएको छ ।

ओल्के पर्वमा खेतबारीमा उत्पादन भएको नयाँ अन्न, फलफूल तथा अन्य कृषि उपजको पहिलो भाग देवीदेवतालाई अर्पण गरेर मात्रै खाने परम्परा छ । कृषि उत्पादनलाई देवीदेवताको कृपाको परिणाम मान्ने लोकविश्वासका कारण नयाँ अन्न भगवान्लाई चढाउने चलन बसेको मानिन्छ । वर्षभरि अन्नबालीमा रोगव्याधि नलागोस्, प्राकृतिक विपत्तिबाट जोगियोस् र उत्पादन सुरक्षित रूपमा भित्र्याउन सकियोस् भन्ने कामनासमेत यस अवसरमा गरिन्छ ।

‘ओल्को’ को अर्थ कोसेली भएकाले इष्टमित्र, मान्यवर तथा आफन्तलाई फलफूल, अन्नलगायतका सामग्री कोसेलीका रूपमा दिने चलनबाट पर्वको नाम ओल्के रहन गएको मानिन्छ । नवविवाहित दुलही श्रावण महिनाभर माइतीघरमा बस्ने र दुलाहा पक्षबाट फलफूल तथा अन्य सामग्री माइती पक्षलाई कोसेलीका रूपमा पठाउने परम्परासँग पनि ओल्के पर्व जोडिएको छ । यसले परिवार, आफन्त र समुदायबीचको सम्बन्धलाई थप आत्मीय बनाउने सांस्कृतिक माध्यमका रूपमा काम गर्दै आएको छ ।

पर्वका अवसरमा गाउँनजिकका सार्वजनिक स्थलमा झाडी सफा गर्ने, ‘बूढी’ नाम दिइने ठूलो लिङ्गो वा रूखको आकृति बनाएर गाड्ने तथा पछि असोजमा त्यसलाई जलाउने परम्परा पनि रहेको छ । यसलाई समाजबाट नकारात्मक ऊर्जा र रोगव्याधिको अन्त्यको प्रतीकका रूपमा लिइन्छ । साँझपख गाउँघरमा युवायुवतीदेखि वृद्धवृद्धासम्म एकै ठाउँमा भेला भएर डेउडा, चैत र धुमारी खेल खेल्दै पर्व मनाउने चलन छ । ओल्केपछि सुदूरपश्चिममा अर्को महत्वपूर्ण पर्व गौरा सुरु हुने भएकाले यससँगै गाउँघरमा चाडपर्वको चहलपहलसमेत बढ्छ ।

आधुनिकता, बसाइँसराइ र बदलिँदो जीवनशैलीका कारण पछिल्लो समय ओल्केजस्ता मौलिक लोकपर्वको परम्परागत स्वरूप प्रभावित हुँदै गएको छ । यद्यपि नयाँ पुस्तालाई संस्कृतिसँग जोड्ने, पुर्खाको इतिहास र प्रकृतिसँगको सम्बन्धलाई निरन्तरता दिने तथा सामाजिक एकता बलियो बनाउने माध्यमका रूपमा ओल्के पर्वको महत्व अझै कायम छ । मौलिक लोकसंस्कृतिको संरक्षण र पुस्तान्तरणका लागि समुदायसँगै स्थानीय तह तथा नयाँ पुस्ताको सक्रियता आवश्यक देखिन्छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*