अनिश्चित बाटोमा पुँजी बजारः फाइनान्सका लगानीकर्ता सर्वाधिक डुबे, किन राताम्य मार्केट ?

काठमाडौँ । शेयर बजारमा देखिएको सुधारले निरन्तरता पाउन नसक्दा नेप्से परिसूचक पुनः दबाबमा परेको छ । पछिल्ला दिनमा लगातारको गिरावटपछि केही सम्हालिएको बजारमा लगानीकर्ताको मनोबल बलियो बन्न नसक्दा कारोबारको अन्त्यतिर बिक्री चाप बढेको हो । खरिदकर्ताको तुलनामा बिक्रीकर्ताको प्रभाव बढेपछि सामान्य सुधारको प्रयास कमजोर बनेको छ । बजारमा कारोबार भइरहे पनि लगानीकर्ताको सक्रियता र जोखिम लिन सक्ने क्षमता कमजोर देखिँदा नेप्सेले दिगो उकालो यात्रा तय गर्न सकेको छैन । यसले पछिल्लो समय बजारमा कायम रहेको अन्योल र लगानीकर्ताको प्रतीक्षाको अवस्थालाई थप स्पष्ट पारेको छ ।
सरकारका तर्फबाट शेयर बजारलाई प्राथमिकतामा राख्ने संकेतसहित सकारात्मक धारणा सार्वजनिक भइरहे पनि त्यसको तत्काल प्रभाव बजारको व्यवहारमा देखिन सकेको छैन । बालेन शाह र अर्थमन्त्री स्वर्णिम वाग्लेले पूँजी बजारको विकास तथा लगानीकर्ताको मनोबल बढाउने विषयमा सकारात्मक धारणा राख्दै आएका छन् । नीतिगत तहबाट आएका यस्ता सन्देशले लगानीकर्ताको अपेक्षा भने बढाएको छ । तर, अपेक्षाअनुसार बजारमा विश्वासको वातावरण निर्माण हुन नसक्दा सकारात्मक अभिव्यक्तिको प्रभाव सीमित बनेको देखिन्छ । लगानीकर्ताले केवल सार्वजनिक अभिव्यक्तिभन्दा पनि स्पष्ट नीति, कार्यान्वयनको सुनिश्चितता र पूँजी बजारमैत्री वातावरणको खोजी गरिरहेका कारण बजारको दिशा परिवर्तन गर्न थप ठोस आधार आवश्यक देखिएको छ ।
यसैबीच, सरकारले व्यवसायीमाथि गरिरहेको कारबाही तथा धरपकडले समेत लगानीकर्ताको जोखिम धारणा बढाएको बजारका जानकारहरूको विश्लेषण छ । व्यवसायिक वातावरणप्रति अनिश्चितता बढ्दा ठूला लगानीकर्ता नयाँ लगानी विस्तार गर्नुभन्दा विद्यमान लगानी सुरक्षित राख्ने रणनीतिमा देखिएका छन् । ठूला लगानीकर्ताको सक्रियता कमजोर हुँदा बजारमा पर्याप्त खरिद चाप सिर्जना हुन सकेको छैन । साना तथा खुद्रा लगानीकर्ताको सहभागिता कायम रहे पनि उनीहरूको सीमित पूँजी र बढ्दो सतर्कताले मात्रै बजारलाई बलियो रूपमा माथि लैजान कठिन देखिएको छ । फलस्वरूप, केही समूह तथा कम्पनीमा खरिद चाप देखिए पनि त्यसले समग्र बजारमा व्यापक माग सिर्जना गर्न सकेको छैन ।
बजारमा अहिले देखिएको अवस्था हेर्दा नेप्सेको आगामी दिशा लगानीकर्ताको मनोबल, तरलताको अवस्था, नीतिगत स्पष्टता र ठूला लगानीकर्ताको सक्रियतामा निर्भर रहने देखिन्छ । सामान्य सुधार देखिएलगत्तै नाफा सुरक्षित गर्ने र पुनः बिक्रीमा जाने प्रवृत्ति दोहोरिँदा बजारले स्थायित्व प्राप्त गर्न सकेको छैन ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २.२५ अकंले घटेर २६४१.५८ बिन्दुमा कायम भएको छ । आज ३५० कम्पनीको १ करोड १९ लाख ३२ हजार कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ५२ करोड ५५ लाख रुपैयाँको कारोबार भएको हो ।
यसदिन ७ उपसूचक राताम्य भएका छन् भने ५ उपसूचकमा सुधार देखिएको छ । आज फाइनान्सको शेयर मूल्यमा भारी गिरावट आएको हो ।

सोमबार ७२ कम्पनीको शेयर मूल्य बढेको छ भने २०१ कम्पनीको घटेको छ । ५ कम्पनीको शेयर मूल्य स्थिर रहेको हो ।











