जेनजी आन्दोलनको मुख्य स्टेकहोल्डर अझै मूलधार बाहिरै

नबराज न्यौपाने
२३ भाद्र २०८३, मंगलवार १२:३०

सन्दर्भः जेनजी आन्दोलनको वार्षिकी

आज भदौं २३ अर्थात नयाँ बानेश्वरमा तत्कालीन केपी ओली नेतृत्वको उन्मत्त सत्ताले निर्दोष अनि कलिला युवाहरूको छाती अनि टाउकोमा गोली दागेर हत्या गर्यो । नयाँ बानेश्वरस्थित संसद भवन वरपर भएको नृशंस दमन वास्तवमै तत्कालीन शाही सरकारले गरेको दमनभन्दा धेरै गुणा बढी र तानाशाही थियो । टाउको ताकेर, भीडमा गोली हानेर छानी छानी हत्या गरिएको उक्त घटनापछि उत्पन्न परिस्थितिले भोलिपल्ट नेपालको इतिहासमा पहिलो पटक प्रधानमन्त्री आफैं ज्यान जोगाउन सेनाको हेलिकोप्टर चढेर भाग्नुपर्यो ।

भदौ २४ गते रगतको बदलामा जनताले गरेको प्रतिरोधमा फाइदा उठाउन चाहने केही तत्वहरूले गरेको अराजक विध्वंससहितले देशलाई नयाँ राजनीतिक कोर्सतर्फ अघि बढायो । जनताले जलाएको संसदलाई औपचारिक रूपमा जनाइयो र सुशिला कार्कीको नेतृत्वमा २०८२ फागुन २१ गते सम्पन्न निर्वाचनमार्फत राष्ट्रिय स्वतन्त्र पार्टीको नेतृत्वमा दुई सिट कम दुई तिहाई बहुमतको सरकार बनिसकेको छ ।

तानाशाही र अपराधिक मानसिकता भएको तत्कालीन सरकार ढलेर नयाँ सरकार बन्यो, नयाँ चुनावमार्फत जनताले अभूतपूर्व विश्वास राष्ट्रिय स्वतन्त्र पार्टीलाई दिए । अहिले जनमतको दम्भसहित रास्वपाका बरिष्ठ नेता बालेन्द्र शाहले सरकारको नेतृत्व गरिरहेका छन् ।

एक वर्षको अवधिमा शासन सत्तामा बस्ने पात्रहरू सबै फेरिए । जनताले झण्डै दुई तिहाई बहुमत दिएर जाऊ र अब निर्धक्क भएर शासन गर भनेर पठाएको छ महिना पुग्नै लागिसकेको छ । तर, सत्तामा बस्ने पात्रहरू फेरिए पनि जनताले भोग्ने, दुःख सास्ती, हैरानीको अवस्था उही छ । पात्र फेरियो तर प्रवृत्ति झनै कहाली लाग्दो भयो । यसअघि जनताले दलहरूमाथि गुनासो गर्ने ठाउँ पाएका थिए । यस पटक त्यो गुनासो गर्ने ठाउँ पनि छैन किनभने आफैंले दुई तिहाई मत दिएर पठाएकाहरूबाट यस्तो अपेक्षा गरेका थिएनन् ।

आन्दोलनको एक वर्षसम्म पनि हिजोको एउटा प्रवृत्ति आज पनि दोहोरिरहेको छ । त्यो हो, दुर्गा प्रसाईं पक्राउ र रिहाई । प्रसाईंले हिजो केपी ओलीका विरुद्धमा गाली गर्थे र ओलीको आदेशमा प्रहरीले पक्राउ गर्थे । आज दुर्गा प्रसाईं बालेन्द्र शाह विरुद्धमा, घण्टी सरकारको विरुद्धमा बोल्छन् र बालेन्द्र शाह अनि सुदन गुरुङको आदेशमा पक्राउ पर्दछन् फेरि सर्वोच्चबाट रिहा हुन्छन् । यो दृष्य २०८२ भदौ २३ अगाडि पनि थियो र आज पनि छ । २०८२ भदौ २२ गते दिउँसो दुर्गा प्रसाईले जेनजी आन्दोलनमा सहभागी हुने निर्णय गरे तर साँझ केही जेनजी युवाहरु उनको घरैमा पुगेर प्रसाईं आफैं चाही सहभागी नहुनु र कार्यकर्तालाई सहयोग हुने गरी अनौपचारिक कुरा मिलाइयो । अर्थात भदौ २३ गतेको जेनजी आन्दोलनमा प्रसाईं घरैमा बस्ने तर आफ्नो समुह सहभागी गराए ।

भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको मुख्य हिस्सेदारहरुमा दुर्गा प्रसाईं समुह, प्रचण्ड नेतृत्वको माओवादी, सुदन गुरुङको समुह, सामाजिक अभियान्ताहरु टंक दाहाल–आसिका तामाङ–स्वागत नेपालहरु, नेपाली सेनाका भुतपूर्वहरु, राजावादी अन्य संगठनहरु, पाथीभरा फ्याक्टर (जनजाति), राष्ट्रिय स्वतन्त्र पार्टी, बिप्लव नेतृत्वको माओवादी संगठन, एमालेभित्रको असन्तुष्ट समुह, कांग्रेसभित्रको असन्तुष्ट समुहसहितका कम्तीमा १३ थरी संगठनहरु सक्रिय सहभागी थिए । सो मध्येको एउटा ठूलो हिस्सा अझै राजनीतिक मूलधार बाहिर नै छ । दुर्गा प्रसाईंले विगत छ बर्षभन्दा लामो समयदेखि फरक धारको नेतृत्व गर्दै आइरहेको सत्य हो । एनआईसी एसिया बैंकबाट ठगिएका पीडितहरुलाई भेला पारेर प्रसाईले बैंकविरुद्धमा अभियान नै चलाएका थिए । त्यस्तै, लघुवित्त पीडितहरुलाई ऋण नतिर्ने र पैसा माग्न आउने बैंकका कर्मचारीहरुका विरुद्धमा जनकारवाही अभियान नै चलाएका थिए ।

प्रसाईंले बैंकहरुले गरेको ज्यादतीका विरुद्धमा सुरु गरेको आन्दोलन मिटरब्याजी पीडित, लघुवित्त पीडित, बैंक तथा वित्तीय संस्थाहरु पीडितहरुलाई एकमुष्ठ स्वरुप बन्न पुगेको थियो । त्यही बीचमा प्रेम प्रसाद आचार्यले गरेको आत्मदाहले पनि आन्दोलनलाई थप मलजल गरेको थियो ।

यी सबै आन्दोलनहरुको केन्द्रबिन्दुमा थिए दुर्गा प्रसाईं । आन्दोलनपछि राजनीतिक दलहरु माओवादी, एमाले, कांग्रेस राजावादीहरु निर्वाचनमा होमिए, चुनाव हारे अनि लडाईमा हारेको सिपाही झै मौन छन् । तर, एउटा आवाज अझै गुन्जन छोडेको छैन, त्यो हो दुर्गा प्रसाईं । दुर्गा प्रसाईंसँग सरकारले केही सम्झौता गरेजस्तो त गर्दैछ, तर प्रसाईको मिशन वा अभियान सम्झौतामा टुंगिनेखालको आन्दोलन वा अभियान होइन । यसले मुलुकको सत्ता पल्टाएरै छोड्ने खालको छ । भदौ २३ मा दुर्गा प्रसाईंले साथ नदिएको भए सम्भवतः आन्दोलनले त्यस्तो उग्ररुप नलिन पनि सक्दथ्यो ।

नयाँ निर्वाचनपछि उदय भएको हर्क साङपाङ पनि चम्कदै छन् । खासमा हर्कको फ्याक्टर श्रम गर्ने, देश बनाउने, अनि जातीय कुरा गर्ने र मुख्य रुपमा पाथीभरा संस्कृतिसँग कनेक्सन भएको पार्टी हो । पाथीभरामा निर्दोष पहिचानवादी युवाहरुमाथि तत्कालीन केपी ओली सरकारले गरेको दमनको हिसाब किताब अहिले उनीहरुले खोजिरहेका छन् । पाथीभरा मन्दिरमा बन्न लागेको केवलकार रद्द गर्ने सम्बन्धमा अहिलेसम्म बालेन सरकारले कुनै निर्णय गर्न सकेको छैनन् । पाथीभरामा अर्बौ रुपैयाँ सेटिङमा चन्द्र ढकालले बनाउन लागेको केवलकारको जनताले विरोध गरेका थिए । विरोध गर्ने जनतामाथि स्थानीय एमाले कांग्रेसका नेताले सशस्त्र प्रहरी लगाएर छानी छानी भदौ २३ झै छातीमा गोली दागिएको थियो । त्यो घटनापछि सम्भवतः बर्षदिन पनि नाघ्न पाएन र त्यही अपराधले केपी ओलीलाई पनि छोडेन र अहिले मुलुकका सत्ता उनको हातबाट खोसेर नयाँ राजनीतिक पार्टीलाई सुम्पिएको अवस्था छ ।

आन्दोलन भनौं वा अभियानको एउटा मुख्य हिस्सेदारलाई बाहिर राखेर, प्रतिपक्षमा राखेर, उसको खोइरो खनेर मुलुक राजनीतिक सहमति, राष्ट्रिय सहमति भएको भनेर मान्न सकिदैन । एउटा स्टेक होल्डरलाई बाहिर छोडेर अहिलेको बालेन सरकारले जतिसुकै र जेसुकै गर्न खोजे पनि सफल हुनधेरै नै कठिन छ । दुर्गा प्रसाईं सरकारको मूलधारमा नफर्किएसम्म यो सरकारको चुनावी वैधता होला तर आन्दोलनको वैधता रहदैन । आन्दोलनको वैधता प्रसाईंसँग पनि छ । कतिपय वैधता लिखत, कागज वा संविधानभित्रबाट खोजेर मात्रै सम्भव हुँदैन । आन्दोलनको स्टेक होल्डर हो भने प्रसाईलाई पनि मुलधारमा प्रवेश गराउन सफल भएको अवस्थामा यो अहिलेको संविधान र व्यवस्था टिक्ला अन्यथा यसको पतन कसैले रोक्न सक्दैन ।

फेरि सरकारको कार्यशैली, आफू मात्रै अन्तिम सत्य, आफू बाहेक सबै असत्य भन्ने जमातबाट जुन शासन अहिले चलिहरकोे छ, यसले मुलुकमा ढिलो चाँडो निम्त्याउने त नयाँ द्वन्द नै हो । द्वन्दवादका कैयौं सिद्धान्तहरु छन्, अहिलेको घण्टी नेतृत्वको सरकारले ति द्धन्दवादका सबै सिद्धान्तहरुका बर्खिलापमा काम गरिरहेको छ । सुकुम्बासीमाथि गरिएको मानवता विरोधी अपराध होस् वा राहतमा गरिएको राजनीति सबैतिर सरकार चुकेकै छ ।

पात्र फेरियो प्रवृत्ति उस्तै छ । हिजो केपी ओलीका पालामा पाथीभरा गोली काण्ड, तीनकुने रक्तपात काण्डहरु भए । आज बालेन्द्र शाहको पालामा सुकुम्बासी काण्ड, सप्तरी काण्डहरु भएकै छन् । घटनाका प्रकृत्तिहरु उस्तै छ, राज्य संरक्षित अपराध । केपी ओलीले सामाजिक सञ्जाल मात्रै बन्द गरेका थिए, अहिले रास्वपाका विरोध गर्दा सामाजिक सञ्जाल आफैले बन्द गरेर बस्नुपर्ने अवस्थाको हेय र घृणा फैलिएको छ । परिवर्तन यही दिनका लागि थियो त ? विगतकै भन्दा झै भद्रगोल, योजनाविहीन अवस्थाका लागि जनताले बलिदान गरेका थिए र ? ति निर्दोष कलिला युवाहरुको बलिदानलाई सार्थक बनाउन नयाँ बहस जरुरी छ । आम बौद्धिक जगतले नयाँ विश्लेषण गर्न ढिलाई गर्नु हुँदैन ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*