एक वर्षमा बाजेको सेकुवाको व्यापार ४५ करोड ५० लाख, आईपीओ जारी गर्ने तयारी

२३ भाद्र २०८३, मंगलवार १३:४९

काठमाडौं । नेपाली खानाको लोकप्रिय ब्रान्ड बाजेको सेकुवाको कारोबार एक वर्षमा १४.६० प्रतिशतले वृद्धि भएको छ । आईपीओ निष्कासनको तयारी गरिरहेको कम्पनीले पछिल्लो समय आफ्नो व्यावसायिक विस्तारलाई निरन्तरता दिएको छ ।

कम्पनीले सन् २०२६ मा ४५ करोड ५० लाख रुपैयाँ बराबरको कारोबार गरेको छ । सन् २०२५ मा यस्तो कारोबार ३९ करोड ७० लाख रुपैयाँ थियो । यसअघि सन् २०२४ मा कम्पनीको कारोबार ३३ करोड ७० लाख रुपैयाँमा सीमित थियो ।

सन् २००९ मा स्थापना भएको बाजेको सेकुवा सन् २०२५ को जुलाईमा पब्लिक कम्पनीमा रूपान्तरण भएको हो । चार दशकदेखि खानपिनको क्षेत्रमा स्थापित ब्रान्डका रूपमा रहेको कम्पनीले परम्परागत नेपाली परिकार तथा सेकुवा केन्द्रित सेवा प्रदान गर्दै आएको छ । कम्पनीको मेन्युमा दुई सयभन्दा बढी प्रकारका परिकार समावेश छन् ।

चेतनाथ भण्डारी अध्यक्ष रहेको कम्पनीले ‘अथेन्टिक सेकुवा कुजिन’ सहित परम्परागत नेपाली डाइनिङको अवधारणामा व्यवसाय सञ्चालन गरिरहेको छ । हाल कम्पनीका देशभर २६ वटा शाखा छन् । तीमध्ये २० वटा फ्रेन्चाइज प्रणालीबाट सञ्चालनमा छन् । कम्पनीको कुल कारोबारमा फ्रेन्चाइज शाखाको योगदान ७७ प्रतिशत र आफ्नै स्वामित्वमा रहेका शाखाको हिस्सा २३ प्रतिशत रहेको छ ।

सन् २०२२ देखि २०२६ सम्म कम्पनीको कारोबार औसत वार्षिक २६ प्रतिशतका दरले बढेको बताइएको छ । व्यवसायमा देखिएको निरन्तर वृद्धिलाई आधार बनाउँदै कम्पनीले आगामी दिनमा फ्रेन्चाइज सञ्जाल थप विस्तार गर्ने योजना अघि सारेको छ ।

कम्पनीले सन् २०२२ देखि २०२६ सम्म सञ्चालन नाफा मार्जिन करिब १८ प्रतिशतको स्तरमा कायम राखेको छ । यस अवधिमा ग्रस क्यास एक्रुअल्स पनि सुधारिएको छ । सन् २०२५ मा ४ करोड ३० लाख रुपैयाँ रहेको यस्तो रकम बढेर सन् २०२६ मा ५ करोड ४० लाख रुपैयाँ पुगेको छ ।

कम्पनीको वित्तीय संरचना पनि सहज देखिएको छ । कुल गियरिङ अनुपात सन् २०२५ को ०.३४ गुणाबाट घटेर सन् २०२६ मा ०.२२ गुणामा आएको छ । त्यस्तै, ब्याज भुक्तानी क्षमता मापन गर्ने ब्याज कभरेज अनुपात ६.७३ गुणाबाट बढेर ७.०९ गुणा पुगेको छ ।

कुल ऋणको तुलनामा ग्रस क्यास एक्रुअल्सको अनुपातसमेत सुधारिएको छ । सन् २०२५ मा ४.२८ गुणा रहेको उक्त अनुपात सन् २०२६ मा घटेर २.९१ गुणामा झरेको छ । कम्पनीले सन् २०२७ देखि २०२८ सम्म थप नयाँ शाखा विस्तार गर्ने योजना बनाएको छ ।

सर्वसाधारणमा सेयर जारी गर्नुअघि गरिएको क्रेडिट रेटिङमा बाजेको सेकुवाले केयरएनपी ट्रिपल बी रेटिङ प्राप्त गरेको छ । उक्त रेटिङले कम्पनीको वित्तीय दायित्व पूरा गर्ने क्षमतामा मध्यमस्तरको सुरक्षा रहेको तथा कर्जा जोखिम पनि मध्यम स्तरमा रहेको संकेत गर्छ ।

रेटिङका क्रममा कम गियरिङ, ऋण तिर्न पर्याप्त क्षमता र छोटो सञ्चालन चक्रलाई कम्पनीका सकारात्मक पक्षका रूपमा मूल्यांकन गरिएको छ । बढ्दो कारोबार, स्थिर सञ्चालन मार्जिन, ऋणको भारमा आएको कमी र शाखा विस्तारको योजनालाई आधार बनाउँदै कम्पनीले आईपीओ निष्कासनतर्फ प्रक्रिया अघि बढाइरहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*