रसुवा भोटेकोशी बाढीको प्रारम्भिक बीमा दाबी विवरण साढे १३ अर्ब, कुन कम्पनीको कति ?

इन्जिनियरिङ तथा ठेकेदार बीमामा २० अर्बभन्दा बढी दाबी
१६ भाद्र २०८३, मंगलवार १४:२७

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको भीषण बाढीका कारण पुगेको क्षतिबापत विभिन्न बीमा कम्पनीहरूमा प्रारम्भिक रूपमा २५ अर्बभन्दा बढी क्षति भएको रिपोर्ट सार्वजनिक गरिएको भए पनि बीमापोष्टले रुजुको क्रममा संशोधित नयाँ तथ्यांक तयार पारेको छ। संशोधित विवरणअनुसार गत भदौ १५ गतेसम्म १३ अर्ब ५७ करोड ३५ लाख रुपैयाँको बीमा दाबी परेको छ ।

नेपाल बीमा प्राधिकरणले दिएको भदौ १५ गतेसम्म प्राप्त विवरणलाई सम्बन्धित कम्पनीबाट प्राप्त विवरणसँग रुजु गरी पुनः प्रविष्ट गर्दा उक्त रुपैयाँ बराबरको बीमा दाबी परेको देखिएको हो । विवरणअनुसार ५८३ जना बीमितबाट दाबी निवेदन परेको हो ।

कम्पनीगत रूपमा हेर्दा हालसम्म युनाइटेड अजोड इन्स्योरेन्समा सबैभन्दा ठूलो बीमा दाबी परेको छ। यस कम्पनीमा ३८ बीमितबाट ४ अर्ब ९७ करोड ४८ लाख रुपैयाँभन्दा बढीको बीमा दाबी परेको हो । दोस्रोमा सानिमा जिआईसी इन्स्योरेन्समा १०२ बीमितबाट २ अर्ब १० करोड २८ लाख रुपैयाँको दाबी निवेदन परेको छ ।

 

त्यसपछि शिखर इन्स्योरेन्समा १ अर्ब ८७ करोड ५४ लाख रुपैयाँ, दि ओरियण्टल इन्स्योरेन्समा ७४ करोड २१ लाख रुपैयाँ, हिमालयन एभरेष्ट इन्स्योरेन्समा ६४ करोड ७८ लाख रुपैयाँ, नेको इन्स्योरेन्समा ५१ करोड ७० लाख रुपैयाँ र सगरमाथा लुम्बिनी इन्स्योरेन्स (सलिको) मा २४ करोड २३ लाख रुपैयाँको दाबी परेको छ ।

त्यसैगरी नेपाल इन्स्योरेन्समा २३ करोड ८६ लाख रुपैयाँ, आईजीआई प्रुडेन्सियल इन्स्योरेन्समा १८ करोड ७३ लाख रुपैयाँ, एनएलजी इन्स्योरेन्समा ११ करोड ३१ लाख रुपैयाँ, प्रभु इन्स्योरेन्समा ३ करोड १२ लाख रुपैयाँ, राष्ट्रिय बीमा कम्पनीमा ७६ लाख रुपैयाँ, नेशनल इन्स्योरेन्समा ५३ लाख रुपैयाँ र नेपाल माइक्रो इन्स्योरेन्समा ५ लाख रुपैयाँ बराबरको बीमा दाबी परेको देखिएको छ ।

अपडेटः बीमापोष्टले भदौ १८ गते बिहान अद्यावधिक विवरण रुजू गर्दा प्रस्तुत समाचारमा उल्लेखित बीमा प्राधिकरणबाट प्राप्त विवरणहरु त्रुटिपूर्ण देखिएकोले क्रमसंख्या १ को दि ओरियण्टल इन्स्योरेन्सको बीमा दाबी १२ अर्ब ३० करोड रुपैयाँ बढी वा अनावश्यक प्रविष्ट भएकोले सो हटाई समाचार र विवरण दुवै सच्याइएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*