बाढीपीडितका लागि सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको १ करोड १ लाख सहयोग

काठमाडौँ । सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले रसुवा जिल्लाको भोटेकोसी नदीमा आएको बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गर्दै प्रभावित समुदायको राहत, उद्धार तथा पुनःस्थापनाका लागि आर्थिक सहयोग गरेको छ।
कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड १ लाख रुपैयाँ सहयोग गरेको हो। उक्त रकम बराबरको चेक कम्पनीका सञ्चालक हसना शर्माले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेकी हुन्।
सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले यसअघि पनि विभिन्न विपद् तथा राष्ट्रिय महत्वका घटनामा सहयोग गर्दै आएको जनाएको छ। २०८१ सालमा आएको बाढीबाट प्रभावितका लागि कम्पनीले ५१ लाख रुपैयाँ सहयोग गरेको थियो भने ‘जेन्जी’ आन्दोलनका क्रममा क्षति भएका राष्ट्रिय सम्पदाको पुनःनिर्माणका लागि १ करोड १ लाख रुपैयाँ प्रदान गरेको थियो।
कम्पनीले सामाजिक उत्तरदायित्वअन्तर्गत आर्थिक सहयोगसँगै आफ्ना बीमितको क्षतिप्रति पनि जिम्मेवार भूमिका निर्वाह गर्दै आएको जनाएको छ। विभिन्न विपद् तथा घटनाबाट क्षति भएका सम्पत्तिसम्बन्धी बीमा दाबीहरू यथासमयमा फर्छ्योट गरी दाबी भुक्तानीसमेत गर्दै आएको कम्पनीको भनाइ छ।









