कोशीसहित चार प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

काठमाडौं । देशभर मनसुनी वायुसँगै पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै बंगालको खाडीमा रहेको न्यून चापीय क्षेत्र गहिरो न्यून चापीय क्षेत्र (डीप डिप्रेसन) का रूपमा विकसित भएको छ। यो प्रणाली आगामी दिनमा थप शक्तिशाली बन्दै पश्चिम–उत्तरपश्चिम दिशातर्फ सर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
हाल देशको हिमाली भूभागमा सामान्यतया बादल लागेको छ भने पहाडी र तराई भूभागमा मौसम मुख्यतः सफा रहेको छ। केही स्थानमा भने आंशिक बदली रहेको छ।
आज असोज ७ गते बुधबार दिउँसो देशभर सामान्यतया बदली रहनेछ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भूभागका केही स्थानमा तथा कर्णाली र सुदूरपश्चिमका हिमाली तथा पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ।
मधेश प्रदेश तथा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भूभागका केही स्थानमा र सुदूरपश्चिमको तराई भूभागका थोरै स्थानमा पनि मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा हुन सक्नेछ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
राति पनि देशभर सामान्यतया बदली रहनेछ। कोशी प्रदेशका हिमाली तथा पहाडी भूभागका धेरै स्थानमा तथा बागमती, गण्डकी र लुम्बिनीका हिमाली तथा पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ। कर्णाली र सुदूरपश्चिमका हिमाली तथा पहाडी भूभागका थोरै स्थानमा पनि यस्तो वर्षा हुन सक्नेछ।
राति कोशी प्रदेशको तराईका धेरै स्थानमा तथा मधेश प्रदेशसहित बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। सुदूरपश्चिमको तराईका थोरै स्थानमा पनि वर्षा हुन सक्नेछ।
रातिको समयमा कोशी प्रदेशका हिमाली, पहाडी तथा तराई भूभागका साथै बागमती प्रदेशका पहाडी तथा तराई भूभाग र गण्डकी तथा लुम्बिनी प्रदेशका तराईका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। भारी वर्षाका कारण दैनिक जनजीवन, सडक तथा यातायातमा असर पर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।











