सिमकार्ड र बैंक खाता आफ्नो नियन्त्रणमा लिएर ठगी गर्ने दुई जना पक्राउ

काठमाडौं । रकम दिने प्रलोभनमा पारी विभिन्न व्यक्तिलाई सिमकार्ड तथा बैंक खाता खोल्न लगाएर ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा मोरङको सुनवर्षी नगरपालिका–९ का ३५ वर्षीय सागर साह र सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–१२ का २८ वर्षीय आनन्द आचार्य छन् ।
प्रहरीका अनुसार उनीहरूले विभिन्न व्यक्तिलाई पैसा दिने प्रलोभनमा पारी एनसेललगायत दूरसञ्चार कम्पनीका सिमकार्ड खरिद गर्न लगाउने गरेका थिए । त्यसैगरी, विभिन्न बैंकमा ई–बैंकिङ र एटीएमसहितको खाता खोल्न लगाएर सिमकार्ड, चेकबुक, एटीएम कार्ड तथा मोबाइल बैंकिङको ओटीपी र पिन नम्बरसमेत आफ्नो नियन्त्रणमा लिने गरेको पाइएको छ ।
उक्त सिमकार्ड तथा बैंक खातामार्फत हुन्डी, अनलाइन गेम र अनलाइन ठगीबाट प्राप्त रकमको कारोबार हुने गरेको सूचनाका आधारमा प्रहरीले अनुसन्धान थालेको थियो ।
प्रहरी वृत्त गौशालाबाट खटिएको टोलीले उनीहरूलाई असोज ७ गते पक्राउ गरेको हो । पक्राउ परेका उनीहरूको साथबाट दुई थान ल्यापटप, २२ थान सिमकार्ड, तीन थान मोबाइल र दुई थान एटीएम कार्ड बरामद भएको प्रहरीले जनाएको छ ।
प्रारम्भिक अनुसन्धानका क्रममा उनीहरूले बैंक खाता, एटीएम र सिमकार्ड उपलब्ध गराएबापत ५० हजार रुपैयाँसम्म दिने प्रलोभन देखाउने गरेको खुलेको छ । एउटै व्यक्तिलाई विभिन्न बैंकमा २१ वटासम्म खाता खोल्न लगाएको र विभिन्न व्यक्तिबाट २६० भन्दा बढी बैंक खाता खोल्न लगाएको पनि प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।
खाता खोल्न लगाएका व्यक्तिहरूको सिमकार्ड, मोबाइल बैंकिङ र एटीएमसमेत उनीहरूले आफ्नो नियन्त्रणमा लिने गरेको पाइएको छ । तर, खाता, एटीएम र सिमकार्ड उपलब्ध गराएबापत दिने भनिएको रकम नदिएपछि शंका लागेका केही पीडित प्रहरीकहाँ पुगेर उजुरी दिएका थिए ।










