आयोगको टोलीलाई जबरासँग भेट्न दिइएन, प्रहरीको व्यवहारप्रति मानव अधिकार आयोगको आपत्ति

१२ आश्विन २०८३, सोमबार ०८:००

काठमाडौं । सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई नेपाल प्रहरीले पक्राउ गरेको घटनाप्रति राष्ट्रिय मानव अधिकार आयोगले ध्यानाकर्षण भएको जनाएको छ। घटनाको अनुगमन गर्न टेकुस्थित प्रहरी परिसर पुगेको आयोगको उच्चस्तरीय टोलीलाई जबरासँग भेटघाट गरी जानकारी लिन प्रहरीले रोक लगाएको आयोगले जनाएको छ।

आयोगका अनुसार आयोगका सदस्यको नेतृत्वमा गएको टोलीलाई प्रहरीले जबरासँग भेट्न तथा घटनासम्बन्धी जानकारी लिन अनुमति नदिएको हो। टोलीलाई रोक्नुको कारणबारे प्रहरी नेतृत्वले समेत स्पष्ट जानकारी नदिएको आयोगले जनाएको छ।

राष्ट्रिय मानव अधिकार आयोग ऐन, २०६८ को दफा ४(क) ले आयोगलाई मानव अधिकारको संरक्षण र प्रवद्र्धनका लागि सार्वजनिक तथा निजी संस्था वा अन्य स्थानको निरीक्षण तथा अनुगमन गर्ने र आवश्यक सुझाव तथा निर्देशन दिन सक्ने अधिकार दिएको छ।

आफ्नो संवैधानिक तथा कानुनी जिम्मेवारीअनुसार अनुगमनका लागि पुगेको आयोगको टोलीलाई रोक्नु प्रहरीको व्यवहार संविधान तथा प्रचलित कानुनले दिएको अधिकारको विपरीत भएको आयोगले जनाएको छ। आयोगले घटनाप्रति दुःख व्यक्त गर्दै अनुगमन तथा मानव अधिकार संरक्षणसम्बन्धी आफ्नो अधिकारको सम्मान गर्न आग्रह गरेको छ।

आयोगले आफ्नो संवैधानिक तथा कानुनी काममा अवरोध गर्ने प्रहरी कर्मचारीलाई कानुनबमोजिम कारबाहीको दायरामा ल्याउन नेपाल सरकारसँग आग्रहसमेत गरेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*