युक्रेनलाई १ अर्ब युरोभन्दा बढी सहायता, संयुक्त हतियार उत्पादनको तयारीमा जर्मनी

१८ आश्विन २०८३, आईतवार १७:०७

काठमाडौँ ।  जर्मन चान्सलर फ्रेडरिक मर्जले युक्रेनलाई थप सैन्य तथा ऊर्जा सहायता उपलब्ध गराउने प्रतिबद्धता जनाउँदै रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई युद्ध अन्त्य गर्न आग्रह गरेका छन्। मर्जले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग भेटवार्ता गरिरहँदा आइतबार राजधानी किएभमा भने रुसी हवाई आक्रमणका साइरन र विस्फोटका आवाज गुञ्जिरहेका थिए।

जर्मन सरकारी अधिकारीहरूका अनुसार मर्जले युक्रेनका लागि सैन्य सहायतास्वरूप १ अर्ब युरो तथा ऊर्जा पूर्वाधारको मर्मतका लागि ३५ करोड युरो उपलब्ध गराउनेसहितको सहायता प्याकेज घोषणा गर्ने तयारी गरेका छन्। साथै, विभिन्न प्रकारका ड्रोन संयुक्त रूपमा उत्पादन गर्ने सम्झौतालाई पनि अन्तिम रूप दिने तयारी छ।

मर्ज र जेलेन्स्कीले गत साता भएको रुसी ड्रोन आक्रमणमा क्षतिग्रस्त युक्रेनको एकेडेमी अफ साइन्सेजको भवनको निरीक्षणसमेत गरेका छन्। उक्त आक्रमणमा कम्तीमा दुई जनाको मृत्यु भएको थियो।

निरीक्षणका क्रममा मर्जले पुटिनलाई लक्षित गर्दै भने, ‘यो अर्थहीन युद्धको अन्त्य गर्नुहोस्।’ उनले युक्रेन वार्ताका लागि तयार रहेको उल्लेख गर्दै सर्वसाधारणमाथिका आक्रमण तत्काल रोक्नुपर्ने बताए।

आइतबार बिहान किएभमा चारपटक हवाई आक्रमणको चेतावनी दिइएको थियो। राजधानीका विभिन्न क्षेत्रमा विस्फोट तथा हवाई प्रतिरक्षा प्रणाली सक्रिय भएको आवाज सुनिएको थियो।

किएभका मेयर भिटाली क्लित्स्कोका अनुसार रुसी आक्रमणमध्ये एकले निप्रो नदीमाथिको नर्दन ब्रिजमा क्षति पुर्‍याएको छ। आक्रमणबाट दुई जना घाइते हुनुका साथै उक्त क्षेत्रमा तातोपानी आपूर्ति प्रणालीमा समेत असर परेको छ।

रुसले पछिल्लो एक सातादेखि किएभका पुल तथा महत्वपूर्ण पूर्वाधारलाई निशाना बनाउँदै आएको युक्रेनी पक्षको भनाइ छ। राजधानीका दुई किनारबीचको आवागमन तथा मध्य र पूर्वी युक्रेनबीचको आपूर्ति मार्ग प्रभावित पार्ने उद्देश्यले यस्ता आक्रमण भइरहेको बताइएको छ।

मर्जको भ्रमणमा जर्मनीकी अर्थमन्त्री क्याथरिना राइकेसहित सिमेन्स इनर्जी, हेनसोल्ड्ट, डिएल डिफेन्स र क्वान्टम सिस्टम्सलगायतका कम्पनीका प्रतिनिधि सहभागी छन्।

यस क्रममा युक्रेन र जर्मनीबीच ड्रोन, मिसाइल तथा सम्बन्धित सफ्टवेयर उत्पादनका विषयमा सहकार्यसम्बन्धी सम्झौता टुंग्याउने तयारी छ। सम्झौताको प्रमुख हिस्सामा एन्टी–जेट ड्रोनको तीव्र उत्पादन रहने अपेक्षा गरिएको छ।

युक्रेनले रुसविरुद्ध प्रयोग गर्न सक्ने १ हजार किलोमिटरभन्दा बढी दूरीसम्म मार हान्न सक्ने हतियारको संयुक्त विकास तथा उत्पादन पनि प्रस्तावित सहकार्यमा समेटिएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*