फ्युचर मोटर्सको व्यापारमा धक्का, ३६ करोडले घट्यो कारोबार

काठमाडौं । नेपालमा विद्युतीय यात्रुवाहक भ्यानसहित विभिन्न सवारीसाधन बिक्री गर्दै आएको फ्युचर मोटर्सको व्यापार गत आर्थिक वर्षमा १८ प्रतिशतले घटेको छ । सन् २०२५ मा १ अर्ब ९६ करोड ५० लाख रुपैयाँ कारोबार गरेको कम्पनीले सन् २०२६ मा १ अर्ब ५९ करोड ९० लाख रुपैयाँको मात्रै व्यापार गरेको हो ।
कम्पनीको कारोबार सन् २०२४ मा १ अर्ब ३० करोड २० लाख रुपैयाँ र सन् २०२३ मा २१ करोड ९० लाख रुपैयाँ थियो । पछिल्लो अवधिमा कारोबारमा केही गिरावट आए पनि सन् २०२३ देखि २०२६ सम्म कम्पनीको समग्र कारोबार ९३ प्रतिशतले बढेको देखिन्छ ।
कम्पनीको सञ्चालन मार्जिन भने मध्यम स्तरमा रहेको छ । सन् २०२४ देखि २०२६ सम्म सञ्चालन मार्जिन २.७५ प्रतिशत कायम रहेको छ । गत आर्थिक वर्षमा कम्पनीले १.३४ प्रतिशत खुद नाफा कमाएको छ ।
कम्पनीको ग्रस क्यास एक्रुअल पनि घटेको छ । सन् २०२५ मा ३ करोड ६० लाख रुपैयाँ रहेको ग्रस क्यास एक्रुअल सन् २०२६ मा २ करोड ९० लाख रुपैयाँमा झरेको छ ।
कम्पनीको कारोबार विस्तारमा सीजी मोटर्ससँगको डिलरसिप महत्वपूर्ण आधार बनेको छ । उक्त डिलरसिपले कम्पनीको बिक्री परिमाणसँगै बजार पहुँच विस्तारमा सहयोग पुर्याएको कम्पनीको भनाइ छ । नेपालमा कमर्सियल भेहिकलअन्तर्गत विद्युतीय यात्रुवाहक भ्यानको माग बढ्दै जानुले पनि कम्पनीको व्यवसाय विस्तारमा टेवा पुगेको छ ।
वित्तीय संरचनातर्फ भने कम्पनी ऋणमा तुलनात्मक रूपमा कम निर्भर देखिएको छ । कम्पनीको समग्र गियरिङ अनुपात ०.६९ गुणा रहेको छ । कुल बाह्य दायित्व र ट्यान्जिबल नेटवर्थको अनुपात पनि घटेको छ । सन् २०२३ मा १०.९७ गुणा रहेको यस्तो अनुपात सन् २०२६ मा ३.९८ गुणामा सीमित भएको छ ।
त्यस्तै, कम्पनीको ब्याज कभरेज अनुपात बढेर ८.७ गुणा पुगेको छ । ऋण सेवा कभरेज अनुपात ४.२७ गुणा रहेको छ । कम्पनीको कुल ऋण र सञ्चालन नाफाबीचको अनुपात १.६६ गुणा रहेको छ भने ग्रस क्यास एक्रुअलको तुलनामा कुल ऋण २.५२ गुणा रहेको छ ।
सन् २०२२ मा स्थापना भएको फ्युचर मोटर्सले नेपालमा विभिन्न ब्रान्डका सवारीसाधनसँगै विद्युतीय सवारीसाधन बिक्री तथा वितरण गर्दै आएको छ । कम्पनीले ११, १४ र १६ सिट क्षमताका विद्युतीय यात्रुवाहक सवारीसाधन बिक्री गर्दै आएको छ ।
कम्पनीले हालै ४ करोड रुपैयाँ चुक्तापुँजी थप गरेको छ । गोविन्द घिमिरे र वीरेन्द्र मण्डलको संयुक्त रूपमा ८१ प्रतिशत स्वामित्व रहेको कम्पनीले अल्पकालीन कर्जाका लागि ८० करोड रुपैयाँको रेटिङ गराएको छ ।











