बाढी–विपद्मा बीमा दाबी भुक्तानी सहज बनाउन नयाँ व्यवस्था, प्राधिकरणले दियो यस्तो निर्देशन

काठमाडौं । नेपाल बीमा प्राधिकरणले बाढी–विपद्मा बीमा दाबी भुक्तानी सहज बनाउन निर्देशन दिएको छ। बीमा कम्पनीहरुको लागि प्राधिकरणले निर्देशन दिँदै यस बिषम परिस्थितीमा रहेका बीमितहरुका लागि आवश्यक सहजीकरण गरिदिन यस्तो निर्देशन जारी भएको छ ।
बाढी तथा विपद्का कारण बीमितको मृत्यु वा बेपत्ता भएको अवस्थामा बीमा दाबी भुक्तानी प्रक्रियालाई सहज बनाउन विभिन्न व्यवस्था गरिएको छ। विपद्का कारण बीमासम्बन्धी कागजात नष्ट भएको, बीमित बेपत्ता भएको वा सक्कल बीमालेख उपलब्ध हुन नसकेको अवस्थामा समेत दाबी प्रक्रियालाई सहज बनाउने व्यवस्था गरिएको हो।
दाबीसम्बन्धी निवेदनमा बीमितको नाम, मृत्यु भएको मिति, मृत्युको कारण, बीमालेख नम्बर तथा दाबीकर्तासँगको नाता स्पष्ट रूपमा खुलाउनुपर्नेछ।
त्यस्तै, निवेदनसँग बीमित र दाबीकर्ताबीचको नाता प्रमाणित हुने कागजात र दाबीकर्ताको परिचय खुल्ने सरकारी निकायबाट जारी परिचयपत्र संलग्न गर्नुपर्नेछ। यसका लागि नागरिकताको प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र, सवारीचालक अनुमतिपत्र, राहदानी वा जग्गाधनी प्रमाणपूर्जामध्ये उपयुक्त कागजात पेश गर्न सकिनेछ।
बाढी तथा विपद्मा परी मृत्यु वा बेपत्ता भएको पुष्टि गर्न अधिकारप्राप्त निकाय वा अधिकारीबाट जारी प्रमाणित विवरण वा सिफारिसपत्र पनि आवश्यक पर्नेछ। त्यस्तो प्रमाण उपलब्ध हुन नसकेको अवस्थामा मृत्युको न्यायिक घोषणालाई समेत आधार मान्न सकिने व्यवस्था गरिएको छ।
सक्कल बीमालेख नभए पनि दाबी गर्न सकिने
विपद्का कारण सक्कल बीमालेख नष्ट भएको वा उपलब्ध हुन नसकेको अवस्थामा पनि दाबी प्रक्रिया रोकिँदैन। यस्तो अवस्थामा बीमा कम्पनीको अभिलेखमा रहेको प्रतिलिपि बीमालेखलाई आधार मानेर दाबी प्रक्रिया अघि बढाउन सकिनेछ।
सम्बन्धित बीमितले बीमालेखको प्रतिलिपि माग गरेमा बीमा कम्पनीले निःशुल्क प्रतिलिपि उपलब्ध गराउनुपर्ने व्यवस्था गरिएको छ।
बीमा कम्पनीमा रहेका बीमासम्बन्धी कागजात अर्थात् पोलिसी डकेट नै नष्ट भएको अवस्थामा बीमित तथा बीमा अभिकर्ताले कम्पनीलाई आवश्यक कागजात तथा विवरण उपलब्ध गराई अभिलेख अद्यावधिक गर्न सहयोग गर्नुपर्नेछ।
बीमाशुल्क र बीमालेख कर्जाको किस्तामा ६ महिनासम्म मोहलत
बाढी वा विपद्का कारण बीमितले नियमित रूपमा बीमाशुल्क वा बीमालेख कर्जाको किस्ता तिर्न नसक्ने अवस्था आएमा राहतस्वरूप ६ महिनासम्मको मोहलत अवधि उपलब्ध गराउनुपर्ने व्यवस्था गरिएको छ।
यस अवधिमा थप ब्याज नलाग्ने गरी किस्ता भुक्तानीका लागि समय उपलब्ध गराइनेछ। विपद्का कारण आर्थिक कठिनाइमा परेका बीमितलाई बीमा निरन्तरता दिन यस व्यवस्थाले सहयोग गर्ने अपेक्षा गरिएको छ।
बेपत्ता बीमितको हकमा पनि दाबी भुक्तानी
विपद्का कारण बीमित बेपत्ता भएको अवस्थामा सम्बन्धित हकवालाले मृत्यु दाबी भुक्तानी लिन सक्ने व्यवस्था गरिएको छ। तर, यस्तो अवस्थामा भविष्यमा बीमित जीवित रहेको प्रमाणित भएमा प्रचलित कानुनबमोजिम हुने कारबाही स्वीकार गर्ने स्वःघोषणा वा प्रतिबद्धतापत्र हकवालाबाट लिनुपर्नेछ।
उक्त स्वःघोषणा/ प्रतिबद्धतापत्र लिएपछि मात्र बेपत्ता बीमितको मृत्यु दाबी भुक्तानी प्रक्रिया अघि बढाउनुपर्ने व्यवस्था गरिएको छ।
यस व्यवस्थाले बाढी, पहिरो तथा अन्य प्राकृतिक विपद्का कारण बीमितको मृत्यु वा बेपत्ता भएको अवस्थामा परिवार तथा हकवालालाई बीमा दाबी प्राप्त गर्ने प्रक्रिया सहज बनाउने देखिन्छ।











