प्रभु इन्स्योरेन्सले निर्जीवन बीमा अभिकर्ताको तालिम तथा परीक्षा सञ्चालन गर्दै

काठमाडौं । प्रभु इन्स्योरेन्स लिमिटेडले निर्जीवन बीमा अभिकर्ताका रूपमा कार्य गर्न इच्छुक नेपाली नागरिक तथा संस्थाहरूका लागि आधारभूत तालिम तथा परीक्षा सञ्चालन गर्ने भएको छ।
कम्पनीले जारी गरेको सूचनाअनुसार निर्जीवन बीमा अभिकर्ताको तालिम आगामी २०८३ साल कार्तिक ११ गतेदेखि कार्तिक १३ गतेसम्म सञ्चालन हुनेछ। तालिममा सहभागी हुन इच्छुक तथा आवश्यक शैक्षिक योग्यता पुगेका व्यक्ति तथा संस्थाले २०८३ साल आश्विन ३० गतेभित्र आवश्यक विवरण तथा कागजातसहित कम्पनीको इमेल ठेगानामा निवेदन पेस गर्नुपर्नेछ।
निर्जीवन बीमा अभिकर्ता बन्नका लागि मान्यताप्राप्त संस्था वा बोर्डबाट न्यूनतम दश जोड दुई वा प्रवीणता प्रमाणपत्र तह वा सो सरहको परीक्षा उत्तीर्ण गरेको हुनुपर्ने कम्पनीले जनाएको छ।
व्यक्तिगत रूपमा बीमा अभिकर्ता बन्न चाहनेले नेपाली नागरिकता तथा शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि पेस गर्नुपर्नेछ। त्यस्तै, स्थायी लेखा नम्बरको प्रतिलिपि, पासपोर्ट आकारका चार प्रति फोटो तथा सम्पर्क नम्बर र इमेल ठेगाना स्पष्ट उल्लेख भएको निवेदन अनिवार्य गरिएको छ। सम्पर्क नम्बर भाइबरसँग जोडिएको हुनुपर्नेछ।
तालिमका लागि एक हजार रुपैयाँ शुल्क तोकिएको छ। उक्त शुल्क अभिकर्ता इजाजतपत्र शुल्कबाहेकको हुनेछ। शुल्क बैंकमा जम्मा गरेको भौचरसमेत निवेदनसँगै पेस गर्नुपर्नेछ।
संस्थागत बीमा अभिकर्ता लिन चाहने सम्बन्धित संस्थाले संस्थाका सञ्चालकको फोटो तथा हस्ताक्षरसहितको निवेदन पेस गर्नुपर्नेछ। साथै, संस्थाको सञ्चालकको नियुक्ति तथा पदावधि खुल्ने विवरण र कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा बीमा कम्पनीको अभिकर्ताका रूपमा कार्य गर्ने उद्देश्य उल्लेख भएको हुनुपर्नेछ।
संस्थाका सञ्चालकको नेपाली नागरिकताको प्रमाणपत्र तथा मान्यताप्राप्त संस्था वा बोर्डबाट न्यूनतम दश जोड दुई वा प्रवीणता प्रमाणपत्र तह वा सो सरहको शैक्षिक योग्यता उत्तीर्ण गरेको प्रमाणसमेत पेस गर्नुपर्नेछ।
यसैगरी, संस्थागत अभिकर्ता लिन चाहने संस्थाको स्थायी लेखा नम्बर दर्ता, कम्पनी दर्ता प्रमाणपत्र, कर चुक्ता प्रमाणपत्र, कम्पनी वा संस्थाको प्रबन्धपत्र तथा नियमावली, वार्षिक लेखापरीक्षण विवरण, कम्पनी कालोसूचीमा नपरेको प्रमाणपत्रलगायत आवश्यक कागजात पेस गर्नुपर्नेछ। नेपाल राष्ट्र बैंक, सहकारी विभाग, जिल्ला प्रशासन कार्यालय, घरेलु तथा साना उद्योग, वाणिज्य कार्यालय वा अन्य सम्बन्धित निकायबाट प्राप्त दर्ता प्रमाणपत्रसमेत आवश्यकताअनुसार पेस गर्नुपर्ने कम्पनीले जनाएको छ।
संस्थागत अभिकर्ताका लागि पनि तालिम शुल्क एक हजार रुपैयाँ तोकिएको छ। उक्त शुल्क अभिकर्ता इजाजतपत्र शुल्कबाहेकको हुनेछ र बैंकमा रकम जम्मा गरेको भौचर पेस गर्नुपर्नेछ।
कम्पनीका अनुसार तालिम २०८३ साल कार्तिक ११ गतेदेखि कार्तिक १३ गतेसम्म बिहान ९ बजेदेखि बेलुका ५ बजेसम्म सञ्चालन हुनेछ। तालिमको अन्तिम दिन अर्थात् २०८३ साल कार्तिक १३ गते शुक्रबार बेलुका ५ बजेदेखि ६ बजेसम्म परीक्षा सञ्चालन हुनेछ।












