सुनकोशी मरिण आयोजनाको ठेक्का रद्द, चिनियाँ कम्पनीले पाउने भएपछि निर्णय गरिएको आशंका

काठमाडौं । मध्य तराईमा सिँचाइ सुविधा विस्तार र विद्युत् उत्पादन गर्ने लक्ष्यसहित अघि बढाइएको सुनकोशी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको बाँध र विद्युत् गृह निर्माणसम्बन्धी ठेक्का रद्द गरिएको छ । आर्थिक प्रस्ताव खोल्ने तयारी भइरहेका बेला ठेक्का रद्द गरिएपछि निर्णयको कारण र प्रक्रियामाथि प्रश्न उठेको छ ।
आयोजनाको ठेक्का रद्द गर्न दबाब दिइएको र त्यसका लागि जलस्रोत तथा सिँचाइ विभागका महानिर्देशक दिनेश रजौरिया तथा योजना प्रमुख कृष्णप्रसाद रिजाललाई पक्राउ गरी काठमाडौं ल्याइएको बताइएको छ । उनीहरूलाई कात्तिक १२ गते पक्राउ गरेर १३ गते सिंहदरबार ल्याइएको र सोही दिन ठेक्का रद्द गर्ने निर्णय गराइएको बताइएको हो।
अन्तर्राष्ट्रिय बोलपत्रको प्राविधिक मूल्यांकनबाट तीनवटा चिनियाँ कम्पनी छनोट भएका थिए । सार्वजनिक खरिद ऐनको संशोधित व्यवस्थाअनुसार औसत मूल्य नजिकको रकम प्रस्ताव गर्ने कम्पनीले ठेक्का पाउने भएकाले प्रतिस्पर्धामा रहेका कम्पनीमध्ये जुन छनोट भए पनि चिनियाँ कम्पनीले ठेक्का पाउने अवस्था रहेको बताइएको छ ।
चिनियाँ कम्पनीले ठेक्का पाउने अवस्था बनेकै कारण आयोजना रद्द गरिएको हुन सक्ने आशंकासमेत व्यक्त गरिएको छ । ठेक्का रद्द गर्ने निर्णयले नेपाल–चीन सम्बन्धमा कूटनीतिक जटिलता थपिन सक्ने चिन्ता पनि व्यक्त गरिएको छ ।











