बाढीपहिरो प्रभावितको पुनर्स्थापनामा नेपाल र भारतका उद्योगीबीच सहकार्य

७ मंसिर २०८३, सोमबार १६:५७

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) र भारतीय उद्योग परिसंघ (सीआईआई) बीच नेपालका बाढीपहिरो प्रभावित समुदायको स्वास्थ्य राहत, जीविकोपार्जन पुनर्स्थापना तथा स्थानीय आर्थिक पुनरुत्थानका लागि सहकार्य गर्ने समझदारीपत्रमा हस्ताक्षर भएको छ । प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणका क्रममा आइतबार नयाँ दिल्लीमा उक्त समझदारीपत्रमा हस्ताक्षर तथा आदानप्रदान भएको हो ।

समझदारीपत्रमा नेपाल उद्योग वाणिज्य महासंघका तर्फबाट उपाध्यक्ष कृष्णप्रसाद शर्मा र भारतीय उद्योग परिसंघका तर्फबाट अन्तर्राष्ट्रिय परिषद्का सह–अध्यक्ष एवं सन इन्टरनेसनल लिमिटेडका अध्यक्ष विक्रमजित सिंह साहनीले हस्ताक्षर गरेका छन् । एक वर्ष अवधि रहने समझदारीअनुसार दुवै संस्थाले आ–आफ्ना विद्यमान स्रोत परिचालन गरी बाढी प्रभावित क्षेत्रमा एकीकृत राहत तथा पुनर्स्थापना कार्यक्रम सञ्चालन गर्नेछन् ।

गत भदौ १० गते नेपाल–चीन सीमा नजिक हिमनदीसम्बन्धी घटनापछि भोटेकोशी र त्रिशूली नदी करिडोरमा आएको विनाशकारी बाढी तथा पहिरोले बागमती प्रदेशका रसुवा, नुवाकोट र धादिङमा ठूलो जनधनको क्षति पुर्‍याएको थियो । सोही घटनाबाट प्रभावित समुदायलाई लक्षित गर्दै ‘नेपाल बाढी राहत तथा पुनर्स्थापना पहल योजना’ अघि सारिएको हो । समझदारीअनुसार रसुवा, नुवाकोट र धादिङका अतिरिक्त गोरखा तथा बागलुङमा पनि कार्यक्रम सञ्चालन गर्न सकिनेछ । सम्भाव्यता र आवश्यकताका आधारमा दोस्रो चरणमा बाढी प्रभावित मुस्ताङ र मनाङमा समेत कार्यक्रम विस्तार गर्न सकिने उल्लेख छ । कार्यक्रमको अन्तिम कार्यक्षेत्र नेपाल सरकार, महासंघ र स्थानीय तहसँगको समन्वयमा स्थलगत मूल्याङ्कनपछि तय गरिनेछ ।

कार्यक्रममा विस्थापित तथा प्रभावित परिवार, महिला तथा किशोरी, गर्भवती र सुत्केरी महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, दीर्घरोगी, साना उद्यमी तथा दैनिक ज्यालादारी गुमाएका मजदुरलाई प्राथमिकता दिइनेछ । पहिलो चरणमा सन् २०२६ नोभेम्बरदेखि २०२७ मार्चसम्म स्वास्थ्य तथा सरसफाइसम्बन्धी कार्यक्रम सञ्चालन गरिने समझदारीमा उल्लेख छ । यसअन्तर्गत चिकित्सक, नर्स, पारामेडिक्स र औषधिविज्ञसहितको टोली प्रभावित क्षेत्रमा परिचालन गरी निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिनेछ ।

स्वास्थ्य शिविरमार्फत पानीजन्य तथा छालासम्बन्धी रोग, श्वासप्रश्वासको समस्या र चोटपटकको उपचार, मातृ तथा शिशु स्वास्थ्य सेवा र निःशुल्क औषधि वितरण गरिनेछ । व्यक्तिगत सरसफाइ तथा पानीजन्य रोगको जोखिम न्यूनीकरणका लागि प्रभावित परिवारलाई बाल्टी, मग, नुहाउने तथा हात धुने साबुन, लुगा धुने पाउडर, पानी शुद्धीकरणका लागि ब्लिचिङ पाउडर, दन्तमञ्जन, ब्रस र स्यानिटरी प्याडसहितका सरसफाइ सामग्री वितरण गरिनेछ । यसका साथै खाद्यान्न, लत्ताकपडा, कम्बल तथा अस्थायी पालसमेत उपलब्ध गराउने योजना रहेको छ ।

आपत्कालीन स्वास्थ्य सेवा प्रभावकारी बनाउन नेपाल सरकार र महासंघको परामर्शमा छनोट गरिएका दुई अस्पताललाई आधारभूत जीवनरक्षक सुविधासहितका दुईवटा एम्बुलेन्स हस्तान्तरण गरिनेछ । एम्बुलेन्सको दिगो सञ्चालनका लागि भारतीय उद्योग परिसंघ, महासंघ र स्थानीय सरकार संरक्षक रहने गरी विशेष कार्यविधि तयार गरिने समझदारीमा उल्लेख छ । प्रत्येक एम्बुलेन्सबाट वार्षिक करिब चार सय बिरामीको आकस्मिक स्थानान्तरण तथा छ हजार नागरिकलाई सामुदायिक स्वास्थ्य सेवामा पहुँच पुर्‍याउने लक्ष्य राखिएको छ ।

कार्यक्रमको दोस्रो र तेस्रो चरणमा प्रभावित परिवारको जीविकोपार्जन पुनर्स्थापना तथा स्थानीय आर्थिक विकासलाई प्राथमिकता दिइनेछ । बाढीबाट भएको जीविकोपार्जन क्षतिको मूल्याङ्कन गरी प्रभावित परिवारलाई साना व्यवसाय, कृषि, पशुपालन तथा स्थानीय सेवा पुनः सञ्चालन गर्न आवश्यक औजार, उपकरण र सीपमूलक तालिम उपलब्ध गराइनेछ । महासंघले गर्ने सर्वेक्षणका आधारमा बाढीबाट प्रभावित लघु, घरेलु तथा साना उद्यमको पुनरुत्थानका लागि प्राविधिक मार्गदर्शन, वित्तीय पहुँचसम्बन्धी जानकारी र बजारसँगको सम्बन्ध विस्तारमा सहयोग गरिनेछ ।

प्रभावित क्षेत्रका उद्यमीलाई काठमाडौंस्थित महासंघको केन्द्रीय कार्यालयमा आमन्त्रण गरी नेपाली र भारतीय उद्योगीबीच व्यावसायिक आदानप्रदान कार्यक्रमसमेत आयोजना गरिनेछ । यसबाट प्रभावित क्षेत्रका उद्यमीलाई नयाँ व्यावसायिक अवसर, बजार पहुँच र आर्थिक गतिविधि पुनः सञ्चालन गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

समझदारीअनुसार भारतीय उद्योग परिसंघले प्रमुख साझेदार तथा प्रायोजकका रूपमा आफ्ना सदस्य संस्थामार्फत स्रोत परिचालन गर्ने, भारत सरकारसँग समन्वय गर्ने र नेपालमा कार्यक्रम कार्यान्वयन गर्ने भारतीय साझेदार छनोट गर्ने जिम्मेवारी लिनेछ । महासंघले भने नेपाल सरकार तथा स्थानीय निकायसँग आवश्यक अनुमति र स्वीकृतिका लागि समन्वय गर्ने, सीमापार राहत सामग्री, औषधि तथा एम्बुलेन्स भित्र्याउन सहजीकरण गर्ने र स्थानीय व्यवसायी तथा समुदायबीच समन्वय गर्ने भूमिका निर्वाह गर्नेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*