नेपाल लाइफबाट घातक रोगी बीमितले पैसा पाएनन, बीमा प्राधिकरण र अदालतको फैसला नै अटेर गर्दै कम्पनी

३० कार्तिक २०८३, सोमबार १९:५६

काठमाडौं । नेपालको बीमा कानुन अनुसार घातक रोग लागेका बीमितलाई त्यस्तो रोग प्रमाणित भए लगत्तै दावी भुक्तानी दिनुपर्ने व्यवस्था छ । तर, नेपाल लाइफ इन्स्योरेन्समा बीमा गरेका बीमित इन्द्र बहादुर रिजालले घातक रोग लागेको बर्षौसम्म पनि घातक रोगको उपचार खर्च पाउन सकेका छैनन् । त्यति मात्रै होइन, नियामक बीमा प्राधिकरण र उच्च अदालत पाटनले दावी भुक्तानी तिर्नुपर्ने फैसला समेत नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले कार्यान्वयन नगरी घातक रोग लागेर बाँचेका बीमितलाई दुःख दिइरहेको छ ।

भविष्यमा आपत विपद पर्दा स्वास्थ्य सुरक्षा र बचत दुवै हुने ठानेर नेपाल लाइफ इन्स्योरेन्समा बीमा गरेका थिए, स्याङ्जाका इन्द्र बहादुर रिजालले । तर, जब उनलाई हृदयघात भयो, त्यसपछि नेपाल लाइफ दावी भुक्तानी नदिन अनेकन बाहना गरेर पन्छिदै आएको पाइएको छ । बीमित रिजालले २०७२ साल असार २२ गते नेपाल लाइफ इन्स्योरेन्स कम्पनीमा १५ लाख रुपैयाँको बीमा गरेका थिए । २०७७ साल असार ३० गते घातक रोग समेतको बीमा सुविधा थप गरी बीमा पोलिसी लगातार नविरण गरेका थिए । उनलाई २०७८ साल पुस ३० गते हृदयघात भई शहिद गंगालाल हृदयरोग केन्द्रमा भर्ना भएरै उपचार गर्नु पर्यो । हृदयघातबाट कोरोनरी एन्जिओप्लाष्टी समेत गरी उपचार पश्चात बालबाल बच्न सफल भए । उपचार सकिएर फर्केपछि नेपाल लाइफ इन्स्योरेन्स कम्पनीमा बीमा दावी गरे । तर, बीमा दावी गरेपछि नेपाल लाइफ इन्स्योरेन्सले घातक रोगको उचपार गर्नुअघि ललितपुरको अल्का अस्पतालमा चेकजाँच गराई टि. एमलोड एल. नामक औषधी सेवन गर्ने गरेको र बीमा गर्नुपूर्व नै मुटु सम्बन्धी समस्या हुनसक्ने भनेर दावी लिई पैसा नदिने निर्णय गरी बीमितलाई थप पीडा र मुद्दा मामिलाको मानसिक दवाव दिएको खुलेको छ ।

पीडित बीमितले न्यायको लागि नेपाल बीमा प्राधिकरणमा उजुरी दर्ता गरेको र बीमा प्राधिकरणले हृदयघात भएको तथ्य पुष्टी भएको, उपचार गरिएको शहिद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रले मिति २०८१।०८।२० मा बीमित रिजाललाई पहिलो पटक हृदयघात भएको र हृदयघात भई उपचार गरिएको तथ्य सहितको पत्र नियामक बीमा प्राधिकरणलाई समेत पेश गरेको देखिएको छ । उपचार गर्ने अस्पतालले नै पहिलो पटक हृदयघात भएको भन्ने व्यहोराको तथ्य प्रमाणसमेतका आधारमा नियामक बीमा प्राधिकरणले नेपाल लाइफ इन्स्योरेन्स कम्पनीलाई १५ लाख रुपैयाँ घातक रोग बीमा पोलिसी अन्तर्गत दावी भुक्तानी गर्नुपर्ने भनि मिति २०८१।०९।०४ मा फैसला गरेको छ । सो फैसला समेत नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले कार्यान्वयन गरेन । बरु उल्टै मिति २०८२।०२।१३ मा उच्च अदालत पाटनमा नेपाल बीमा प्राधिकरणबाट भएको सुरु फैसला त्रुटीपूर्ण रहेको भन्दै पुनरावेदन निवेदन भएको देखिन्छ । सो मुद्दामा उच्च अदालत पाटनका न्यायाधीशद्वय गिता प्रसाद तिम्सिना र राजुकुमार खतिवडाको संयुक्त इजलासले मिति २०८२।१२।१० मा बीमा प्राधिकरणको फैसला सदर हुने ठहरी नेपाल लाइफ इन्स्योरेन्सलाई घातक रोगी रिजाललाई दावी भुक्तानी तिर्नुपर्ने ठहर गरी अन्तिम फैसला भइसकेको छ ।

नेपालको प्रचलित कानुन बमोजिम अन्तिम फैसला भइसकेको कुनै पनि मुद्दा तत्कालै कार्यान्वयन गर्नुपर्दछ । उच्च अदालत पाटनबाट अन्तिम फैसला भइसकेको फैसला कार्यान्वयन नगरी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले बीमितमाथि ठूलो अन्याय गर्दै आएको छ । पीडित इन्द्र बहादुर रिजालले भने, ‘दुई तहबाट अन्तिम फैसला भइसकेपछि तत्कालै फैसला कार्यान्वयन हुनुपर्ने हो, अहिलेसम्म मैले पैसा पाएको छैन ।’

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका सिईओ प्रविन रमण पराजुलीसँग सो सम्बन्धमा जिज्ञाशा राख्दा भने, ‘यो मुद्दा अहिले सर्वोच्च अदालतमा विचाराधिन अवस्थामा रहेको छ ।’ कुरा बुझिए अनुसार नेपाल लाइफले सो मुद्दा सर्वोच्चमा दोहोर्याउन हेराई पाउन निवेदन दिएको छ । पीडित रिजालले निस्सा पाइनसकेको दावी गरेका छन् । सामान्यतया, दुई तहबाट अन्तिम फैसला भइसकेको मुद्दामा सर्वोच्च अदालतमा सोझै पुनरावेदनमा जान पाइदैन । कुनै कारण वा अन्य कुरा देखाएर दोहोर्याई पाउन निवेदन दिन सक्नेछन् र इजलासलाई फैसला चित्त नबुझेमा मात्रै उक्त मुद्दाले स्थान पाउने सम्भावना रहन्छ ।

नेपाल लाइफ इन्स्योरेन्स जस्तो सबैभन्दा धेरै बीमा पोलिसी बिक्री गरेकै कम्पनीले दुई तहको अदालतबाट भएको फैसला समेत कार्यान्वयन गर्दैन भने आम बीमितहरुले कसरी विश्वास गर्ने ? प्रश्न उठेको छ ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*