आन्दोलन र बाढीको दोहोरो मारमा निर्जीवन बीमा: ८ कम्पनी घाटामा, अन्य छ कम्पनीको अवस्था कस्तो ?

३० कार्तिक २०८३, सोमबार १२:०९

काठमाडौँ । गत वर्ष युवा आन्दोलनका कारण उत्पन्न चुनौतीबाट तङ्ग्रिन नपाउँदै चालु आर्थिक वर्षको भदौ १० गते गएको बाढीले थप क्षति पुर्‍याएपछि निर्जीवन बीमा कम्पनीहरू थप चुनौतीमा परेका छन्। एकपछि अर्को प्रतिकूल परिस्थितिको सामना गरिरहेका निर्जीवन बीमा कम्पनीहरूको वित्तीय अवस्था चालु आर्थिक वर्षको पहिलो तीन महिनामा केही सुधारिएको देखिएको छ। गत वर्षको सोही अवधिको तुलनामा अधिकांश कम्पनीले आफ्नो नाफा तथा घाटाको अवस्थामा सुधार गरे पनि समग्र क्षेत्र अझै घाटामै रहेको छ।

चालु आर्थिक वर्ष २०८३/८४ को असोजसम्मको तथ्याङ्कअनुसार १४ निर्जीवन बीमा कम्पनीको कुल खुद घाटा १ अर्ब २७ करोड ४६ लाख रुपैयाँ रहेको छ। गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीहरूको कुल खुद घाटा १ अर्ब ७३ करोड ७७ लाख ७६ हजार रुपैयाँ थियो।

कम्पनीगत अवस्था हेर्दा राष्ट्रिय बीमा कम्पनी सबैभन्दा अगाडि देखिएको छ। कम्पनीले चालु आर्थिक वर्षको असोजसम्म २८ करोड ३० लाख २० हजार रुपैयाँ खुद नाफा कमाएको छ। गत वर्षको सोही अवधिमा ९ करोड ९५ लाख ९ हजार रुपैयाँ घाटामा रहेको कम्पनीले यस वर्ष उल्लेख्य सुधार गर्दै नाफा कमाउन सफल भएको हो।

त्यस्तै, प्रभु इन्स्योरेन्सले ६ करोड ६८ लाख १ हजार रुपैयाँ खुद नाफा कमाएको छ। गत वर्षको सोही अवधिमा ६ करोड ३१ लाख ३९ हजार रुपैयाँ नाफा कमाएको कम्पनीको नाफा ५.८० प्रतिशतले बढेको छ।

शिखर इन्स्योरेन्सले ४ करोड ११ लाख २१ हजार रुपैयाँ खुद नाफा कमाएको छ। गत वर्ष १५ करोड ८५ लाख ८६ हजार रुपैयाँ घाटामा रहेको कम्पनी यस वर्ष नाफामा फर्किएको हो।

यसैगरी, एनएलजी इन्स्योरेन्सले ३ करोड ५३ लाख ४३ हजार रुपैयाँ र आइजिआई प्रुडेन्सियल इन्स्योरेन्सले ३ करोड ३ लाख २४ हजार रुपैयाँ खुद नाफा कमाएका छन्।

नेशनल इन्स्योरेन्सको नाफामा भने भारी गिरावट आएको छ। गत वर्षको असोजसम्म ३ करोड ८१ लाख ७७ हजार रुपैयाँ खुद नाफा कमाएको कम्पनीले चालु आर्थिक वर्षको सोही अवधिमा ७ लाख १ हजार रुपैयाँ मात्रै नाफा कमाएको छ।

अर्कोतर्फ, ८ कम्पनीको नाफा ऋणात्मक रहेको छ । युनाइटेड अजोड इन्स्योरेन्स ५ करोड २९ लाख ८४ हजार रुपैयाँ, नेको इन्स्योरेन्स ८ करोड १८ लाख ७१ हजार,  सिद्धार्थ प्रिमियर इन्स्योरेन्स १६ करोड १५ लाख ५६ हजार, नेपाल इन्स्योरेन्स २० करोड ४७ लाख २ हजार रुपैयाँ, सगरमाथा लुम्बिनी इन्स्योरेन्स २० करोड ९८ लाख ३२ हजार रुपैयाँ घाटामा छ।

सानिमा जिआईसी इन्स्योरेन्सको घाटा बढेर २९ करोड ३७ लाख ७६ हजार रुपैयाँ पुगेको छ। गत वर्षको सोही अवधिमा कम्पनी २० करोड २ लाख ३ हजार रुपैयाँ घाटामा थियो।

त्यसैगरी, द ओरिएन्टल इन्स्योरेन्स ३२ करोड ६० लाख ९१ हजार रुपैयाँ घाटामा रहेको छ।  सबैभन्दा कमजोर वित्तीय अवस्था हिमालयन एभरेष्ट इन्स्योरेन्सको देखिएको छ। गत वर्षको असोजसम्म १० करोड ९३ लाख ३७ हजार रुपैयाँ खुद नाफामा रहेको कम्पनी चालु आर्थिक वर्षको सोही अवधिमा ४० करोड ११ लाख रुपैयाँ घाटामा पुगेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*