हैरानीमा शेयर लगानीकर्ताः अस्थिर बजारमा गुम्दै लगानी, पोर्टफोलियो जोगाउन नै कठिन!

काठमाडौँ । पछिल्लो समय शेयर बजार निरन्तर अस्थिर बन्दै जाँदा लगानीकर्ताको मनोबल कमजोर बनेको छ । बजार न त अपेक्षाअनुसार उकालो लाग्न सकेको छ, न त ठूलो अंकले घटेर स्थिर हुने संकेत नै देखिएको छ । बजारको यही अन्योलपूर्ण अवस्थाले लगानीकर्तामा त्रास र अनिश्चितता बढाएको छ । सूचकमा देखिएको गिरावटसँगै लगानीको मूल्यसमेत खुम्चिँदै गएपछि साना तथा ठूला लगानीकर्ता निराश बनेका छन् । विशेषगरी बजारमा सुधार आउने अपेक्षासहित प्रवेश गरेका लगानीकर्ता अहिले आफ्नो लगानी सुरक्षित हुनेमा समेत ढुक्क हुन सकेका छैनन् । बजारमा तत्काल सुधारको संकेत नदेखिँदा नयाँ लगानीकर्ता प्रवेश गर्न हिचकिचाइरहेका छन् भने पुराना लगानीकर्ता पनि थप लगानी गर्ने कि भएको पोर्टफोलियो जोगाउने भन्ने द्विविधामा छन् ।
दशैँ, तिहार तथा छठलगायतका प्रमुख चाडपर्व सकिएपछि बजारमा तरलता बढ्ने, आर्थिक गतिविधि चलायमान हुने र त्यसको सकारात्मक प्रभाव शेयर बजारमा पर्ने अपेक्षा गरिएको थियो । चाडपर्वपछि बजारमा नयाँ पैसा प्रवेश गर्ने र शेयर बजारले पुनः हरियाली समात्ने अनुमानका आधारमा धेरै लगानीकर्ता बजारमा प्रवेश गरेका थिए । तर, उनीहरूको अपेक्षाविपरीत बजारले निरन्तर ओरालो यात्रा तय गरेपछि लगानीकर्ताको उत्साह खस्किएको छ । सूचकमा देखिएको लगातारको गिरावटले खरिदकर्ताको मनोबल कमजोर बनाएको छ भने कारोबारमा समेत अपेक्षित उत्साह देखिन सकेको छैन । बजारमा माग बढ्न नसक्दा शेयरको मूल्यमा सुधार आउन सकेको छैन ।
शेयर बजारलाई गति दिन सहयोगी मानिने अधिकांश आर्थिक तथा नीतिगत सूचक सकारात्मक देखिएका छन् । अर्थ मन्त्रालयले पूँजी बजारमैत्री नीति अवलम्बन गरिरहेको छ भने नियामक निकाय नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेन्ज (नेप्से) तथा नेपाल राष्ट्र बैंकबाट पनि बजारलाई सहज बनाउने उद्देश्यले विभिन्न नीतिगत व्यवस्था लचिलो बनाइएका छन् । अर्थतन्त्रका समग्र सूचकमा सुधारका संकेत देखिनुका साथै बैंक तथा वित्तीय संस्थाको ब्याजदर न्यून अवस्थामा छ । लगानीका लागि कर्जाको लागतसमेत तुलनात्मक रूपमा कम रहेको छ । सामान्यतः यस्ता अनुकूल परिस्थितिले शेयर बजारमा सकारात्मक प्रभाव पार्नुपर्ने हो । तर, नीतिगत सहजीकरण र आर्थिक सूचकमा देखिएको सुधारका बाबजुद बजारमा लगानीकर्ताको विश्वास फर्किन सकेको छैन ।
बजारमा लगानीकर्ताको मनोबल कमजोर बनाउने अर्को प्रमुख कारण सम्पत्ति शुद्धीकरणसम्बन्धी सरकारी अनुसन्धानलाई पनि मानिएको छ । सरकारले अवैध रूपमा आर्जन गरिएको सम्पत्ति तथा त्यसको स्रोत पहिचान गर्ने अभियानलाई तीव्रता दिएसँगै पूँजी बजारमा लगानीको स्रोतलाई लिएर चासो र चिन्ता बढेको छ । अर्थमन्त्री स्वर्णिम वाग्लेले समेत यही साता शेयर बजारमा स्वच्छ लगानीलाई प्राथमिकता दिने विषयमा अभिव्यक्ति दिएका थिए । सरकारको कदमलाई एकातर्फ पूँजी बजारमा पारदर्शिता र सुशासन कायम गर्ने प्रयासका रूपमा हेरिएको छ भने अर्कोतर्फ यसले लगानीकर्तामा मनोवैज्ञानिक त्रास सिर्जना गरेको छ । विशेषगरी लामो समयदेखि ठूलो रकम परिचालन गर्दै आएका केही ठूला लगानीकर्ता तथा बिचौलियाको लगानीको स्रोतबारे अनुसन्धान हुन सक्ने आशंकाले कारोबारमा सतर्कता बढाएको छ । लगानीको स्रोत खुलाउनुपर्ने अवस्था आउन सक्ने डरले केही लगानीकर्ता सक्रिय कारोबारबाट पछि हटिरहेको बजारका जानकारहरूको बुझाइ छ ।
यसका अतिरिक्त सूचीकृत कम्पनीहरूको वित्तीय अवस्था र लाभांश वितरणले पनि लगानीकर्ताको अपेक्षा पूरा गर्न सकेको छैन । पछिल्लो समय विभिन्न कम्पनीले सार्वजनिक गरेका वित्तीय विवरण तथा लाभांश घोषणामा अपेक्षित आकर्षण नदेखिँदा शेयर बजारप्रतिको उत्साह कमजोर बनेको छ । विशेषगरी बैंक तथा वित्तीय संस्थासहित विभिन्न क्षेत्रका कम्पनीबाट राम्रो प्रतिफलको अपेक्षा गरेका लगानीकर्ता सन्तोषजनक लाभांश नपाएपछि लगानीसम्बन्धी निर्णय पुनर्विचार गर्न बाध्य भएका छन् । शेयर बजारमा लगानी गर्दा कम्पनीको नाफा, प्रतिशेयर आम्दानी, नेटवर्थ, लाभांश क्षमता तथा भविष्यको व्यावसायिक सम्भावनालाई मुख्य आधार मानिन्छ । तर, कम्पनीहरूको प्रतिफल कमजोर देखिँदा वित्तीय विवरण विश्लेषण गरेर लगानी गर्ने लगानीकर्तासमेत पर्ख र हेरको अवस्थामा पुगेका छन् ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २.२६ अकंले बढेर २६२३.५६ बिन्दुमा कायम भएको छ । आज ३६० कम्पनीको १ करोड ८ लाख कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ८२ करोड ६२ लाख रुपैयाँको कारोबार भएको हो ।
आज ९ उपसूचक राताम्य भएका छन् भने ४ उपसूचकमा सामान्य सुधार देखिएको छ । आज लघुवित्त, म्युुचुअल फण्ड र निर्जीवन बीमा समूहको शेयर सर्वाधिक घटेको हो ।

सोमबार १०५ कम्पनीको शेयर मूल्य बढेको छ भने १६५ कम्पनीको घटेको छ । १० कम्पनीको शेयर मूल्य स्थिर रहेको हो ।











