सेल ब्रोडकास्ट प्रणालीको परीक्षण हुँदै, मोबाइलमा सन्देश आए नआत्तिन आग्रह

काठमाडौं । विपद्का बेला नागरिकलाई समयमै पूर्वसूचना पुर्याउने उद्देश्यले सरकारले नेपालमै विकसित सेल ब्रोडकास्ट प्रविधिको प्रारम्भिक प्राविधिक परीक्षण गर्ने भएको छ। गृह मन्त्रालय, सम्बन्धित सरकारी निकाय र नेपाल टेलिकमको समन्वयमा आज सोमबार बेलुकी ५ बजे काठमाडौंका केही क्षेत्रमा टुजी मोबाइल सञ्जालमार्फत परीक्षण गर्न लागिएको हो।
परीक्षणका क्रममा तोकिएका क्षेत्रमा रहेका केही मोबाइल फोनमा चेतावनी ध्वनिसहित सन्देश प्राप्त हुन सक्नेछ। यस्तो सन्देश प्राप्त भएमा नआत्तिन र कुनै प्रतिक्रिया वा थप कारबाही नगर्न मन्त्रालयले सर्वसाधारणलाई आग्रह गरेको छ। परीक्षण सन्देश नेपाली र अंग्रेजी दुवै भाषामा पठाइनेछ, जसमा स्पष्ट रूपमा ‘यो परीक्षण सन्देश हो’ उल्लेख हुनेछ। एउटै सन्देश एकभन्दा बढी पटक प्राप्त हुन सक्ने मन्त्रालयले जनाएको छ।
सेल ब्रोडकास्ट प्रविधिले बाढी, पहिरो, भूकम्पलगायत विपद्को जोखिम रहेका क्षेत्रमा तत्काल पूर्वसूचना पुर्याउन मद्दत गर्नेछ।











