नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी दुई सरकारी निकायमा जागिर खाएकाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी सरकारी सेवामा नियुक्ति लिएको आरोपमा भोज बाबु सोमै मगरविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
प्यूठानको सरुमारानी गाउँपालिका–४ निवासी मगरले डिप्लोमा इन सिभिल इन्जिनियरिङको नक्कली प्रमाणपत्र पेस गरी दुई सरकारी निकायमा करार सेवामा काम गरेको आरोप लागेको हो । उनले ओखलढुङ्गाको रुम्जाटार माध्यमिक विद्यालयमा करिब दुई वर्ष प्राविधिक शिक्षकका रूपमा काम गरेका थिए । त्यसपछि विद्यालय छाडेर खानेपानी मन्त्रालयअन्तर्गत संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना, बुटवलमा सब–इन्जिनियर पदमा नियुक्त भएको उजुरीमा उल्लेख छ ।
आयोगका अनुसार अनुसन्धानका क्रममा मगरले दुवै निकायमा नियुक्ति लिन पेस गरेका डिप्लोमा इन सिभिल इन्जिनियरिङ तहका शैक्षिक प्रमाणपत्र झुट्टा तथा नक्कली रहेको खुलेको हो । उक्त प्रमाणपत्र प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी), सानोठिमी, भक्तपुरबाट जारी भएको देखिए पनि नक्कली रहेको आयोगको ठहर छ ।
नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी सार्वजनिक पद, ओहदा, लाभ तथा सुविधा प्राप्त गरेको भन्दै आयोगले मगरविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिम सजायको मागदाबी गरेको छ । आयोगले मंगलबार विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको हो ।











