अपर स्याङ्गे हाइड्रोपावरले १०० प्रतिशत हकप्रद शेयर जारी गर्ने, पुस २ गते साधारणसभा

९ मंसिर २०८३, बुधबार ०९:५६

काठमाडौं । अपर स्याङ्गे हाइड्रोपावर लिमिटेडले आफ्नो चुक्ता पूँजीको शतप्रतिशत अर्थात् १ः१ अनुपातमा हकप्रद शेयर जारी गर्ने प्रस्ताव गरेको छ। कम्पनीले उक्त प्रस्तावसहितका विभिन्न विषयमा छलफल तथा निर्णय गर्न पुस २ गते १०औँ वार्षिक साधारणसभा बोलाएको छ।

कम्पनीको मंसिर ८ गते बसेको सञ्चालक समितिको ७६औँ बैठकले साधारण सभा गर्ने निर्णय गरेको हो। सभा काठमाडौंको चप्पल कारखाना चोकस्थित कुण्डलिनी दरबार बैंक्वेटमा बिहान ९ः३० बजे सुरु हुनेछ।

सभामा कम्पनीको चुक्ता पूँजीको एक कित्ता शेयर बराबर अर्को एक कित्ता शेयर अर्थात् १०० प्रतिशत हकप्रद शेयर जारी गर्ने विशेष प्रस्ताव पेस हुनेछ। त्यस्तै हकप्रद शेयर निष्काशनबाट प्राप्त हुने रकम कसरी उपयोग गर्ने भन्ने विषयमा सञ्चालक समितिले गरेको निर्णय अनुमोदन गर्ने प्रस्ताव पनि रहेको छ।

कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने र नियमनकारी निकायबाट कुनै फेरबदल वा थपघट गर्न सुझाव तथा निर्देशन आएमा सोहीअनुसार संशोधन गर्न सञ्चालक समितिले तोकेको पदाधिकारीलाई अख्तियारी दिने प्रस्ताव पनि सभामा पेस हुनेछ।

यसैगरी कम्पनीले ऋण स्वापसम्बन्धी गरेको निर्णय तथा सञ्चालक समितिका अन्य निर्णय अनुमोदन गर्ने, जलविद्युत् तथा सौर्य ऊर्जालगायत अन्य उपयुक्त कम्पनीमा लगानी गर्ने र त्यसका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि रहेको छ। आर्थिक वर्ष २०८२/८३ मा विभिन्न संस्था तथा व्यक्तिलाई दिइएको आर्थिक सहयोग रकम अनुमोदन गर्ने विषयसमेत सभाको कार्यसूचीमा समावेश छ।

सभामा सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहित आर्थिक वर्ष २०८२/८३ को वित्तीय विवरण पारित गर्ने, चालू आर्थिक वर्ष २०८३/८४ का लागि लेखापरीक्षक नियुक्त गर्ने तथा पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पेस हुनेछ। साथै स्वतन्त्र सञ्चालकको नियुक्ति अनुमोदन गर्ने विषयमा समेत छलफल हुनेछ।

सभामा कम्पनीका प्रवद्र्धक तथा आधारभूत शेयरधनीबाट प्राप्त हुने सापटी तथा ऋण रकममा सञ्चालक समितिको निर्णयअनुसार ब्याज प्रदान गर्ने र सोसम्बन्धी आवश्यक व्यवस्था गर्ने विषयमा पनि छलफल हुनेछ। कम्पनीले साधारण सभा प्रयोजनका लागि मंसिर १६ गते एक दिन शेयरधनी दर्ता पुस्तिका बन्द गर्ने जनाएको छ। त्यसअनुसार मंसिर १५ गतेसम्म कायम शेयरधनीले साधारण सभामा सहभागी हुन पाउनेछन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*