आईएमई लाइफको ६२ हजार ५०० कित्ता संस्थापक शेयर लिलामीमा, मूल्य कति?

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ६२ हजार ५०० कित्ता संस्थापक शेयर बिक्री गर्ने भएको छ । कम्पनीले उक्त शेयर लिलाम बढाबढ प्रक्रियामार्फत बिक्री गर्न लागेको हो ।
कम्पनीको संस्थापक शेयर खरिद गर्न इच्छुक योग्य व्यक्ति, फर्म, कम्पनी तथा संघसंस्थाले शिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन् । यसका लागि मंसिर १० गतेदेखि बोलपत्र आवेदन खुला हुनेछ भने मंसिर १८ गते कार्यालय समयभित्र आवेदन पेश गरिसक्नुपर्नेछ ।
उक्त शेयरको न्यूनतम बिक्री मूल्य प्रतिकित्ता २२५ रुपैयाँ तोकिएको छ । तर शेयरको बजार मूल्यको ५० प्रतिशत र २२५ रुपैयाँमध्ये जुन कम हुन्छ सोही मूल्य वा सोभन्दा बढी मूल्यमा बोलकबोल गर्नुपर्ने व्यवस्था गरिएको छ । बजार मूल्य भन्नाले कारोबार भएको दिनको भारित औसत कारोबार मूल्यलाई बुझिने र उक्त दिन कारोबार नभएको अवस्थामा त्यसअघिल्लो कारोबार दिनको भारित औसत मूल्यलाई आधार मानिने कम्पनीले जनाएको छ ।
शेयर खरिद गर्न इच्छुक लगानीकर्ताले न्यूनतम ५ हजार कित्ताका लागि आवेदन दिनुपर्नेछ । अधिकतममा भने बिक्रीमा राखिएको सम्पूर्ण ६२ हजार ५०० कित्ताका लागि आवेदन दिन सकिनेछ । आवेदन दिँदा १० ले भाग जाने कित्तामा मात्र आवेदन दिनुपर्नेछ । दशमलवमा आउने वा खण्डित कित्ताका लागि आवेदन दिन पाइने छैन ।
शेयर खरिदका लागि आवश्यक शिलबन्दी बोलपत्र आवेदन फाराम ग्लोबल आइएमई क्यापिटल लिमिटेड, नक्साल, काठमाडौंमा उपलब्ध हुनेछ । भरिएको बोलपत्र पनि सोही स्थानमा मंसिर १८ गते कार्यालय समयभित्र पुग्ने गरी बुझाउनुपर्नेछ । यस शेयरको बिक्री तथा लिलाम प्रक्रिया ग्लोबल आइएमई क्यापिटल लिमिटेडले व्यवस्थापन गर्नेछ ।











