निर्जीवन बीमा कम्पनीहरूको अभिकर्ता कमिसन खर्च दोब्बरले बढ्यो, कुन कम्पनीको कति ?

काठमाडौं । चालु आर्थिक वर्ष २०८३/०८४ को असोज मसान्तसम्म १४ वटा निर्जीवन बीमा कम्पनीको अभिकर्ता कमिसन खर्च दोब्बरभन्दा बढीले वृद्धि भएको छ। कम्पनीहरूले सार्वजनिक गरेको तथ्यांकअनुसार समीक्षा अवधिमा यी कम्पनीको कुल अभिकर्ता कमिसन खर्च १००.५८ प्रतिशतले बढेर ३७ करोड १३ लाख ७९ हजार रुपैयाँ पुगेको छ। गत आर्थिक वर्ष २०८२/०८३ को असोज मसान्तसम्म यस्तो खर्च १८ करोड ५१ लाख ५२ हजार रुपैयाँ रहेको थियो।
समीक्षा अवधिमा सबैभन्दा बढी अभिकर्ता कमिसन खर्च गर्ने कम्पनीमा द ओरियन्टल इन्स्योरेन्स रहेको छ। कम्पनीले असोज मसान्तसम्म ८ करोड ३२ लाख १४ हजार रुपैयाँ कमिसनबापत खर्च गरेको छ। गतआर्थिक वर्षको सोही अवधिमा कम्पनीको यस्तो खर्च २ करोड ७८ लाख ५६ हजार रुपैयाँ रहेको थियो। ओरियन्टलको अभिकर्ता कमिसन खर्च १९८.७३ प्रतिशतले बढेको छ।

त्यस्तै, नेसनल इन्स्योरेन्सले ४ करोड ५६ लाख ९५ हजार रुपैयाँ अभिकर्ता कमिसनमा खर्च गरेको छ। यो सूचीमा कम्पनी दोस्रो स्थानमा रहेको छ। सगरमाथा लुम्बिनी इन्स्योरेन्सले ३ करोड ८९ लाख १३ हजार रुपैयाँ खर्च गर्दा एनएलजी इन्स्योरेन्स र आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सले समान ३ करोड ६६ लाख १७ हजार रुपैयाँ कमिसन खर्च गरेका छन्।
यस्तै, युनाइटेड अजोड इन्स्योरेन्सले २ करोड ५९ लाख ८६ हजार, नेको इन्स्योरेन्सले २ करोड १९ लाख ८९ हजार र सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले २ करोड ५ लाख ६७ हजार रुपैयाँ अभिकर्ता कमिसनमा खर्च गरेका छन्। शिखर इन्स्योरेन्सको यस्तो खर्च १ करोड ८८ लाख ३२ हजार र हिमालयन एभरेस्ट इन्स्योरेन्सको १ करोड ७३ लाख ९५ हजार रुपैयाँ रहेको छ।
त्यसैगरी, सानिमा जीआईसी इन्स्योरेन्सले १ करोड ३५ लाख ४८ हजार, नेपाल इन्स्योरेन्सले ६३ लाख ९० हजार, प्रभु इन्स्योरेन्सले ३९ लाख ६५ हजार र राष्ट्रिय बीमा कम्पनीले १६ लाख ५१ हजार रुपैयाँ अभिकर्ता कमिसनबापत खर्च गरेका छन्।











