जापान पठाउने भन्दै १७ जनाबाट २ करोड ४५ लाख रुपैयाँ ठगी, कृष्णहरि दाहाल पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारीका लागि जापान पठाइदिने भन्दै विभिन्न व्यक्तिबाट ठूलो रकम असुलेर सम्पर्कविहीन भएको आरोपमा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा काठमाडौँको नागार्जुन नगरपालिका–९ का ३३ वर्षीय कृष्णहरि दाहाल रहेका छन्। प्रारम्भिक अनुसन्धानअनुसार उनले १७ जनाबाट करिब २ करोड ४५ लाख रुपैयाँ ठगी गरेको खुलेको छ।
प्रहरीका अनुसार दाहालले बेरोजगार युवायुवतीलाई जापानमा आकर्षक पारिश्रमिकसहितको रोजगारी दिलाइदिने आश्वासन दिएर रकम संकलन गरेका थिए। उनले पीडितहरूलाई शिरबहादुर गजुरेलको बैंक खातामा पैसा पठाउन लगाउने गरेको अनुसन्धानबाट देखिएको छ। रकम जम्मा गर्न आनाकानी गर्ने व्यक्तिलाई भने आफू नै गजुरेल भएको बताउँदै पैसा फिर्ता गर्ने लिखित प्रतिबद्धतासमेत दिने गरेको पाइएको छ।
पीडितले दिएको उजुरीका आधारमा प्रहरीले अनुसन्धान अघि बढाएको थियो। जिल्ला प्रहरी कार्यालय कास्कीको सहयोगमा खोजी गर्ने क्रममा दाहाललाई पक्राउ गरिएको हो। प्रहरीले उनलाई मंगलबार थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि वैदेशिक रोजगार विभागमा बुझाएको जनाएको छ।
यस घटनामा अहिलेसम्म १७ जना पीडित प्रहरीको सम्पर्कमा आएका छन्। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले दाहाल र शिरबहादुर गजुरेलको नाममा भएको भनिएको कारोबारबाट आफू पनि प्रभावित भएको भए कार्यालयमा सम्पर्क गरी जानकारी गराउन सर्वसाधारणलाई आग्रह गरेको छ।











