पुस ५ गतेदेखि ‘नेपाल फर्मा एन्ड हेल्थ’ अन्तरास्ट्रिय प्रदर्शनी हुने

३ पुष २०८०, मंगलवार १३:१४

काठमाडौं । औषधोपचार, स्वास्थ्योपचार तथा फार्मेसीसँग सम्बन्धित ‘नेपाल फर्मा एन्ड हेल्थ’ नामक अन्तरास्ट्रिय प्रदर्शनी यही पुस ५ गतेदेखि पुस ७ गतेसम्म हुने भएको छ । यो प्रदर्शनी मिडिया स्पेस सोलुसन्स, एक्जिबिसन एन्ड ट्रेड सर्भिसेस इन्डिया प्रालि तथा फ्युचरेक्स ट्रेड फेयर्स एन्ड इभेन्ट्स् प्रालिको संयोजकत्वमा हुन लागेको हो ।

उक्त प्रर्दशनीमा स्वदेशी तथा विदेशी गरी १०० भन्दा बढि कम्पनीहरुको स्टल रहने बताइएको छ । नेपाल फर्मा एन्ड हेल्थ अन्तरास्ट्रिय प्रदर्शनीमा प्रदर्शनी, सम्मेलन र साझेदारी गरी तीन विशेषताहरू सम्मिलित छन् । यी तीन वटै विशेषताहरूलाई एउटै ठाउँमा ल्याई नेपालका विभिन्न फर्मा र हेल्थकेयर उद्योगलाई जोड्न, सम्बन्ध निर्माण गर्न र व्यापार अवसरहरू बढाउनका लागि यो प्रदर्शनीले केन्द्रीय भूमिका निर्वाह गर्ने जनाइएको छ।

नेपालले औषधि तथा स्वास्थ्य उद्योगको विकासमा एउटा निश्चित गति लिएको र यी क्षेत्रहरूबाट विशेष गरी देशको विस्तारित अर्थतन्त्रमा प्रत्यक्ष फाइदा हुने र स्वास्थ्य सेवामा सरकारी लगानी बढ्नुका साथै नेपालको औषधि तथा स्वास्थ्य सेवा उद्योगले दिगो विकास पनि ल्याउन सक्ने सम्भावना रहने भनिएको छ ।

नेपालमा भित्रिने औषधोपचारका सामग्रीहरूमा भारत लगभग ८० प्रतिशत आयातको साझेदार रहेको र यो प्रदर्शनीले भारतीय उपमहाद्वीपका विभिन्न सरोकारवालाहरूको ध्यानाकर्षण गर्ने विश्वास लिइएको छ। नेपाली चिकित्साप्रणालीमा वैदेशिक योगदान तथा लगानीका लागि विभिन्न उत्कृष्ट अवसरहरू सिर्जना गर्नका लागि पनि यो प्रदर्शनीले उल्लेखनीय भूमिका निर्वाह गर्ने आयोजकले जनाएको छ ।

यस प्रदर्शनीले स्थानीय औषधि, चिकित्सा र स्वास्थ्य सेवा उद्योगका लागि सञ्जालको काम गरी औषधोपचारको क्षेत्रमा नयाँ आविष्कारदेखि नयाँ औषधिको विकाससम्मको विश्वव्यापी नवीनता प्रविष्ट गराउने बागडोर बन्ने बताइएको छ । यस प्रकारका सहकार्यहरूले नेपालमा गुणस्तरीय औषधि र स्वास्थ्य उद्योगको विकासलाई सक्षम बनाउन व्यापक स्थान प्रदान गर्ने उद्देश्यलाई सकार्दै मानिसहरूको स्वास्थ्य सेवा आवश्यकताहरूमा प्रतिस्पर्धात्मक रूपमा योगदान पुर्याउने भनिएको छ ।

प्रदर्शनीले विभिन्न देशका कम्पनिहरू र ब्राण्डहरू सहित बिजिनेस लिडरहरू, डाक्टरहरू, वैज्ञानिकहरू, रोग विशेषज्ञहरू, अनुसन्धानकर्ताहरू, सरकारी अधिकारीहरू, नीति निर्माताहरू र उद्योग पेशेवरहरूलाई एकसाथ समेट्नेछ । यो एक्सपोले नयाँ आविष्कारहरू र नयाँ बजारको खोजी गर्दै नेपालको चिकित्सा र प्रयोगशाला उद्योगलाई आवश्यक उचाईमा लिएर जाने आयोजकले बताएका छन् । उक्त प्रदर्शनीमा आउने चाहनेलाई प्रवेश निःशुल्क गरिएको र सहभागी हुनलाई दर्तासमेत खुल्ला गरिएको आयोजकले बताएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*