दसैंका लागि नयाँ नोट वितरणको शैली फेरियो, राष्ट्र बैंकले नियमित रूपमा सटही दिने

१४ आश्विन २०८३, बुधबार २१:२२

काठमाडौं । नेपाल राष्ट्र बैंकले यस वर्ष दसैंलाई लक्षित गरी छुट्टै मिति तोकेर नयाँ तथा खुद्रा नोट वितरण नगर्ने भएको छ । केन्द्रीय बैंकले नियमित कार्यालय समयमै बजारको मागअनुसार नयाँ तथा खुद्रा नोट सटही सुविधा उपलब्ध गराउने भएको हो ।

राष्ट्र बैंकका कार्यकारी निर्देशक अनुज दाहालका अनुसार विगतमा दसैंअघि निश्चित मिति तोकेर नयाँ तथा खुद्रा नोट सटही गर्ने अभ्यास यस वर्षदेखि परिवर्तन गरिएको छ ।

‘दसैंका बेला नयाँ तथा खुद्रा नोट सटही सुविधा उपलब्ध हुने मिति तोक्ने अभ्यास हटाएका छौं,’ दाहालले भने, ‘यसपालिदेखि केन्द्रीय बैंकको नियमित कामअन्तर्गत नै नयाँ तथा खुद्रा नोट सटही सेवा उपलब्ध हुन्छ ।’

दसैंमा नयाँ नोटको माग बढी हुने भएकाले विगतमा केन्द्रीय बैंकले विशेष रूपमा नयाँ नोट बजारमा पठाउँदै आएको थियो । तर, अब भने कुनै निश्चित पर्वलाई लक्षित गरेर भन्दा बजारको माग र आवश्यकताका आधारमा नोट सटही सेवा उपलब्ध गराउने नीति लिइएको राष्ट्र बैंकले जनाएको छ ।

दाहालका अनुसार राष्ट्र बैंकसँग पर्याप्त नोट मौज्दात रहेकाले मागअनुसार सटही सुविधा उपलब्ध गराइनेछ । नयाँ नोटले माग धान्न नसकेमा सुकिला तथा चलनचल्तीमा रहेका नोटसमेत वितरण गरिनेछ।

‘केन्द्रीय बैंकसँग पर्याप्त नोट छ, मागअनुसार सटही सुविधा हामी दिन्छौं,’ दाहालले भने, ‘नयाँले पुग्दासम्म नयाँ वितरण गर्छौं, त्यसले पनि पुगेन भने सुकिला नोट वितरण गर्ने योजनामा छौं ।’

राष्ट्र बैंकको बैंकिङ काउन्टरबाट कार्यालय समयमा नै नोट सटही सेवा उपलब्ध हुँदै आएको छ । बैंक तथा वित्तीय संस्थाले समेत पर्याप्त नयाँ तथा खुद्रा नोट लगिसकेको र आफ्ना ग्राहकलाई वितरण गरिरहेको राष्ट्र बैंकले जनाएको छ ।

यस वर्ष प्राकृतिक विपत्तिका कारण विगतको जस्तो दसैं उत्सवमय रूपमा मनाउने अवस्था नरहेको भन्दै राष्ट्र बैंकले छुट्टै सूचना जारी गरेर नयाँ नोट वितरण गर्ने अभ्यास नगरेको जनाएको छ ।

हाल राष्ट्र बैंकमा नोट सटही गर्न जाने व्यक्तिले अधिकतम दुई बन्डलसम्म नोट साट्न पाउने व्यवस्था रहेको छ । एउटा बन्डलमा ५, १०, २०, ५० र १०० रुपैयाँ दरका नोटमध्ये प्रत्येक दरका १०० थान नोट रहनेछन् ।

राष्ट्र बैंकका अनुसार व्यक्तिगत प्रयोजनका लागि सटही गर्दा उपलब्धताका आधारमा नोट दिइनेछ भने व्यापारिक प्रयोजनका लागि नयाँ तथा सुकिला नोटसमेत सटही गर्न सकिने व्यवस्था छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*