मैलुङ खोला जलविद्युत् आयोजनाको ५ मेगावाट उत्पादन ठप्प, बैंक ऋण जोखिममा

काठमाडौँ । बाढीका कारण रसुवाको उत्तरगया गाउँपालिका–१, मैलुङ दोभानमा सञ्चालित ५ मेगावाट क्षमताको मैलुङ खोला हाईड्रोपावर प्रोजेक्टमा गम्भीर क्षति पुगेको छ। बाढीका कारण आयोजनाको सम्पूर्ण विद्युत् उत्पादन बन्द हुनुका साथै उत्पादन संरचना, विद्युत्गृह, स्विचयार्ड, आवासगृह, पहुँचमार्ग, प्रसारणसम्बन्धी संरचना तथा अन्य भौतिक पूर्वाधारमा क्षति पुगेपछि आयोजनाको सञ्चालन अनिश्चित बनेको हो।
मैलुङ खोला जलविद्युत् कम्पनी लिमिटेडका अनुसार २०८३ साल भदौ १० गते आएको भोटेकोशी–रसुवा बाढीका कारण आयोजनाको क्षेत्रमा प्राकृतिक विपत्तिको अवस्था सिर्जना भएको थियो। बाढीको प्रभावपछि सोही दिनदेखि आयोजनाको विद्युत् उत्पादन पूर्ण रूपमा बन्द भएको कम्पनीले जनाएको छ।
५ मेगावाट जडित क्षमता रहेको आयोजनाको शतप्रतिशत उत्पादन क्षमता नै प्रभावित भएपछि कम्पनीको आम्दानी र नगद प्रवाहमा प्रत्यक्ष असर परेको छ। विद्युत् उत्पादन पूर्ण रूपमा बन्द हुनुका साथै आयोजनाका संरचना तथा सम्पत्तिमा गम्भीर क्षति पुगेकाले कम्पनीको सञ्चालन तथा समग्र वित्तीय अवस्थामा समेत उल्लेख्य प्रभाव पर्ने प्रारम्भिक आकलन गरिएको छ।
उत्पादन बन्द हुँदा आयोजनाबाट हुने नियमित आम्दानी रोकिएको अवस्थामा बैंक ऋणको साँवा तथा ब्याज भुक्तानी गर्ने क्षमतामा समेत दबाब पर्ने देखिएको छ। कम्पनीले बाढीका कारण विद्युत् उत्पादन तथा आम्दानीमा प्रत्यक्ष असर परेकाले आयोजनाको नगद प्रवाह र ऋण सेवा क्षमतामा प्रभाव पर्ने प्रारम्भिक रूपमा देखिएको जनाएको छ। यद्यपि यसको वास्तविक वित्तीय प्रभाव भने विस्तृत वित्तीय अध्ययनपछि मात्र यकिन हुने कम्पनीको भनाइ छ।
आयोजनासम्म पुग्ने पहुँचमार्गसमेत बेत्रावती क्षेत्रदेखि नै क्षतिग्रस्त भएको र आयोजनाका संरचनामा व्यापक क्षति पुगेको कम्पनीले जनाएको छ। यसका कारण आयोजना पुनः सञ्चालन हुने निश्चित समय अहिले नै निर्धारण गर्न सकिने अवस्था छैन। क्षतिको विस्तृत प्राविधिक मूल्याङ्कन सम्पन्न भएपछि मात्र पुनः सञ्चालनको सम्भावित समय निर्धारण गर्न सकिने कम्पनीले स्पष्ट पारेको छ।
बाढीले आयोजनाको विद्युत् उत्पादन संरचना, विद्युत्गृह र स्विचयार्डमा प्रभाव पारेको प्रारम्भिक विवरण प्राप्त भएको छ। त्यस्तै आवासगृह, पहुँचमार्ग, प्रसारण लाइन तथा अन्य विद्युत् पूर्वाधारमा समेत क्षति पुगेको हुनसक्ने भएकाले प्राविधिक निरीक्षण तथा मूल्याङ्कन भइरहेको कम्पनीले जनाएको छ। विस्तृत प्राविधिक विवरण प्राप्त भएपछि क्षतिको वास्तविक अवस्था थप स्पष्ट हुने बताइएको छ।
प्राकृतिक विपत्तिले आयोजनाको भौतिक संरचनामा मात्रै होइन, मानव संसाधनमा समेत गम्भीर असर पारेको छ। कम्पनीका अनुसार आयोजनामा कार्यरत ७ जना कर्मचारी तथा कामदार हालसम्म पनि सम्पर्कविहीन अवस्थामा रहेका छन्। उनीहरूको अवस्थाबारे थप जानकारी प्राप्त गर्ने तथा प्रभावित क्षेत्रमा आवश्यक समन्वय र खोजी कार्यलाई समेत प्राथमिकतामा राखिएको छ।
आयोजनाका सम्बन्धित संरचना तथा सम्पत्तिको बीमा गरिएको कम्पनीले जनाएको छ। बाढीबाट भएको क्षतिबारे बीमा कम्पनीलाई प्रारम्भिक जानकारी गराइसकिएको छ भने क्षतिको विस्तृत मूल्याङ्कनपछि आवश्यक कागजातसहित बीमा दाबी प्रक्रिया अघि बढाइनेछ। बीमा दाबीबाट प्राप्त हुने रकमले पुनःस्थापना तथा क्षति व्यवस्थापनमा केही राहत पुग्ने अपेक्षा गरिएको भए पनि अहिले नै त्यसको परिमाण यकिन भइसकेको छैन।
कम्पनीले बाढीबाट प्रभावित संरचना तथा क्षेत्रको प्रारम्भिक निरीक्षण गरी कर्मचारी तथा प्राविधिक टोली परिचालन गरेको छ। आयोजनाको सुरक्षा सुनिश्चित गर्ने, क्षतिको विस्तृत प्राविधिक मूल्याङ्कन गर्ने, बीमा दाबी अघि बढाउने, आवश्यक मर्मत तथा पुनःस्थापनाको योजना तयार गर्ने र विद्युत् उत्पादन यथाशीघ्र पुनः सञ्चालन गर्ने कार्यलाई प्राथमिकतामा राखिएको कम्पनीले जनाएको छ।
तर पहुँचमार्गदेखि आयोजनाका मुख्य संरचनासम्म क्षति पुगेको र उत्पादन क्षमता नै पूर्ण रूपमा प्रभावित भएकाले पुनःनिर्माण तथा पुनःस्थापनामा ठूलो समय र वित्तीय स्रोत आवश्यक पर्ने देखिएको छ। यसले आयोजना पुनः सञ्चालनको समय मात्र होइन, कम्पनीको आगामी नगद प्रवाह र ऋण भुक्तानी क्षमतामाथि समेत दबाब बढाउने अवस्था सिर्जना गरेको छ।











