आज उधौली पर्व मनाइँदै

१० पुष २०८०, मंगलवार ०७:२३

काठमाडौं । किराँत समुदायले आज उधौली पर्व मनाउँदै छन् । खेतवारीमा उब्जाएको अन्नवाली इष्टदेवलाई चढाएर यो पर्व मनाउने परम्परा रहीआएको छ ।

प्रकृतिपूजक मानिने किराँत समुदायले हर्षोल्लासका साथ उद्यौली पर्व मनाउने गर्दछन् । किरात समुदायले हरेक वर्ष मङ्सिर पूर्णिमाका दिन मानिस, जनावर तथा चराचुरुङ्गी लेकतिरबाट बेसीतिर बसाइँ सर्ने समय भएको संकेत गर्न तथा अन्नबाली भित्र्याइएको खुशीयालीमा उधौली पर्व मनाउने गर्दछन् । यस पर्वमा भित्र्याइएको नयाँ अन्नबाली पितृलाई चढाई पितृ पूजा गरिनुका साथै अन्नको सह बनोस् भन्ने कामनासहित भूमिको पूजा गर्ने गरिन्छ ।

यो पर्वमा पाकेका अन्नबाली आफ्ना देवीदेवतालाई चढाएर न्वागी पुजा गर्ने प्रचलन रहेको छ । किराँत समुदायमा अन्नबाली लगाउने समय वैशाख पूर्णिमाको बेला उभौली मनाउने प्रचलन छ ।

किराँत समुदाय भित्र मुख्यगरी राई, लिम्बु, सुनुवार, याख्खा लगायतका जातिले आ–आफ्नै संस्कार अनुसार यो पर्व परम्परागत भेषभूषा लगाई सार्वजनिक स्थलमा भेला भएर सामूहिक रूपमा साकेला नृत्य गर्दै विविध कार्यक्रम गर्दै मनाउने गर्दछन् । साथै, आज नेवारी समुदायले यःमरि पुन्हि वा ज्यापु दिवस मनाउने गर्दछन् । आजको दिन पूर्णिमा व्रतका लागि विशेष मानिन्छ। दत्तात्रेय जयन्तीसमेत आजै रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*