विन नेपाललाई प्राप्ति गरेपछि स्वरोजगार लघुवित्तको एकीकृत कारोबार सुरु

१५ आश्विन २०८३, बिहीबार ०९:३६

काठमाडौँ । स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडलाई प्राप्ति (एक्विजिसन) गरेपछि ‘स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेड’ कै नामबाट एकीकृत वित्तीय कारोबार सुरु गरेको छ।

काभ्रेपलाञ्चोकको बनेपा–५ मा केन्द्रीय कार्यालय रहेको स्वरोजगार लघुवित्त नेपाल राष्ट्र बैंकबाट ‘घ’ वर्गको इजाजतपत्र प्राप्त राष्ट्रियस्तरको लघुवित्त वित्तीय संस्था हो। उसले बनेपा–१३, काभ्रेपलाञ्चोकमा रजिष्टर्ड केन्द्रीय कार्यालय रहेको बागमती प्रदेशस्तरीय विन नेपाल लघुवित्तलाई प्राप्ति गरेको हो।

नेपाल राष्ट्र बैंकले जारी गरेको ‘बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने/गाभिने (मर्जर) तथा प्राप्ति (एक्विजिसन) सम्बन्धी विनियमावली, २०७३ (संशोधनसहित)’ बमोजिम दुवै संस्थाबीचको प्राप्ति प्रक्रिया पूरा गरिएको स्वरोजगार लघुवित्तले जनाएको छ।

प्राप्ति प्रक्रियाका क्रममा नेपाल राष्ट्र बैंक, नेपाल धितोपत्र बोर्ड र कम्पनी रजिष्ट्रारको कार्यालयबाट आवश्यक अन्तिम स्वीकृति प्राप्त भएपछि विन नेपाल लघुवित्तको अन्तिम दिनसम्म कायम सम्पूर्ण सम्पत्ति, दायित्व तथा अन्य सम्भावित दायित्व स्वरोजगार लघुवित्तले व्यहोर्ने गरी एकीकृत कारोबार अघि बढाइएको संस्थाले जनाएको छ।

संस्थाका अनुसार २०८३ भदौ २१ गते आइतबारदेखि स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट एकीकृत कारोबार सञ्चालनमा आएको हो। प्राप्तिपछि एकीकृत कारोबार सुरु भएको जानकारी संस्थाले सार्वजनिक सूचनामार्फत सम्बन्धित सरोकारवाला तथा सर्वसाधारणलाई गराएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*