कास्कीको मित्रमिलन सहकारीविरुद्ध मुद्दा दायर हुँदै, प्रहरी प्रतिवेदनमा ३१ करोड ७८ लाख विगो माग

१० पुष २०८०, मंगलवार १२:४८

काठमाडौं । मित्रमिलन सहकारी बचत तथा ऋण सहकारीमा भएको ३१ करोड ७८ लाख रकम हिनामिनाको विषयमा जिल्ला प्रहरी कार्यालय कास्कीले तयार पारेको प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयमा पेश गरेको छ ।

प्रहरीले बचतकर्ताले दिएको उजुरी तथा सहकारीमा भएको ठगीको अनुसन्धानको आधारमा उक्त रकमबराबरको बिगो कायम गरेर वकिल कार्यालयमा प्रतिवेदन बुझाएको हो । सो सहकारीका बचतकर्ताले आफ्नो बचत रकम फिर्ता नदिएको भन्दै १२ कात्तिकमा गण्डकी प्रदेश सरकारमातहतको सहकारी रजिस्ट्रार कार्यालयमा निवेदन पेश गरेका थिए ।

बचतकर्ताले पटकपटक बचत रकम फिर्ता माग्दा पनि सहकारीले रकम फिर्ता नदिएपछि पहिले ३५ जना र थप गरी ५० जनाले निवेदन दिएका थिए । निवेदकहरुले लेखा र संस्थाको नाममा रहेको चल–अचल सम्पत्तिसमेत रोक्का राखि अनुसन्धान गर्न र सम्पत्ति बिक्री वा नामसारी भएको खण्डमा रजिष्ट्रारको कार्यालय नै यसको जिम्मेवार रहने निवेदनमा उल्लेख गरेका थिए । बचतकर्ताको निवेदनसँगै सोही दिन रजिष्ट्रारको कार्यालयले यस विषयमा आवश्यक अनुसन्धान गरी कारबाही प्रकिया अघि बढाउन जिल्ला प्रहरी कार्यालयलाई पत्राचार गरेको थियो ।

बचतकर्ताले निवेदन दिएपछि चार्टर्ड एकाउटेन्ट नियुक्त गरी सहकारीको स्थापनाकालदेखि हालसम्मको आर्थिक कारोबारको अध्ययन गरी ‘वित्तीय विवरण सम्बन्धमा विश्लेषण गरी सो सम्बन्धमा देखिएका कैफियतउपर प्रस्तुत गरिएको रायसहितको प्रतिवेदन २०८०’ तयार गरेर रजिस्ट्रार कार्यालयमा बुझाइएकोमा २६ करोड ८४ लाख रुपैयाँ हिनामिना भएको देखिएको थियो । त्यसपछि कार्यालयले प्रतिवेदनसहित संस्थाका सम्पूर्ण कागजात जिल्ला प्रहरी कार्यालयलाई दिएको थियो ।

प्रतिवेदनपछि प्रहरीले आवश्यक अनुसन्धान गरेर मंसिर १६ मा सहकारी ऐन २०७४ अन्तर्गत रही मुद्दा दत्र्ता गरेको थियो । त्यसपछि मंसिर १९ मा जिल्ला प्रहरी कार्यालयले सार्वजनिक सूचना जारी गर्दै सहकारीबाट बचत रकम फिर्ता नपाएका र प्रहरीमा जाहेरी दरखास्त दिन बाँकी रहेका पीडित बचतकर्ताहरूलाई समेत मंसिर २७ गते भित्र जाहेरी दिन आग्रह गरेको थियो ।

प्रहरीको उक्त सूचनापछि पुस ६ गतेसम्म गरी सात सय १४ वटा जाहेरी परेको र उक्त जाहेरीमा उल्लेख भएको रकम जोड्दा २० करोड ५० लाख ८२ हजार १९ रुपैयाँ पुगेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता श्रवणकुमार विकले जानकारी दिए । उनले सहकारीमा कुल बचतकर्ताको संख्या तीन हजार चार सय ४६ जना रहेको र प्रतिवेदन तथा अन्य ठगी भएको रकम र उजुरी दिन नआएका बचतकर्तासमेतको रकमको हिसाबसँगै आवश्यक अन्य अध्ययनपछि ३१ करोड ७८ लाख ठगी भएको निष्कर्षसहित प्रतिवेदन तयार पारिएको बताए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*