अन्ततः प्रभु महालक्ष्मी लाइफबाट रमेश भट्टराई बाहिरिए, कसरी आयो एकाएक सिईओ भट्टराईको राजिनामा ?

काठमाडौं । गत पुस २९ गते प्रभु महालक्ष्मी लाइफको साधारणसभा सम्पन्न भएदेखि नै कम्पनीका सिईओ रमेश कुमार भट्टराईको राजिनामाको विषय सञ्चालक समिति र कम्पनीभित्र चलिरहेको थियो । बुधबार एकाएक रमेश कुमार भट्टराईले आगामी फागुन १ गतेदेखि लागू हुने गरी पदबाट राजिनामा गरेपछि नेपालकै सबैभन्दा धेरै समय सिईओ पदमा रहेर काम गरेका रमेश भट्टराईको राजिनामा किन आयो ? भन्दै चासो व्यक्त भइरहेको छ ।
प्रभु लाइफका संस्थापकहरुका अनुसार मर्जरकै समयमा दुई कम्पनीका बीचमा महालक्ष्मी लाइफका सिईओ रमेश कुमार भट्टराई आउदो बार्षिक साधारणसभासम्मको लागि मात्रै सिईओ पदमा रहने र बार्षिक साधारणसभापछि सिईओ पद प्रभु लाइफका सिईओ सन्तोष प्रसाईलाई हस्तान्तरण गर्ने भन्ने सहमति थियो । सो सहमति कार्यान्वयन गराउन २०८० असार २९ गतेदेखि मर्जर भएको प्रभु महालक्ष्मी लाइफको सिईओ पदमा २०८० असार २४ गते नै नियुक्ती गरिएको थियो । बाहिरबाट हेर्दा सामान्य नियुक्ती प्रक्रियाको अर्थ लागे पनि भट्टराईलाई मर्जरपछिको सञ्चालक समितिको समर्थन आवश्यक पर्ने गरी पुर्व योजना मुताविक सिईओमा नियुक्ती गरिएको प्रभु लाइफका एक संस्थापकले बीमापोष्टलाई बताए । बार्षिक साधारणसभापछि पद नछोेडेमा के गर्ने भन्ने विषयमालाई ध्यानमा राखेरै उनलाई मर्जरपछिको सञ्चालक समितिको समर्थन आवश्यक पर्ने गरी सिईओ बनाइएको थियो, ताकि बार्षिक साधारणसभापछि सिईओ पद हस्तान्तण गर्ने योजना कार्यान्वयन गर्न सजिलो होस् ।
नेपाल बीमा प्राधिकरण स्रोतले पनि सञ्चालक समितिले समर्थन नगरेकोले सिईओ पदबाट राजिनामा गर्नुपरेको पुष्टि गरेका छन् । प्राधिकरण स्रोतले भन्यो, ‘प्रभु महालक्ष्मी लाइफको सञ्चालक समितिले समर्थन गरेको भए, सिईओ भट्टराईको पदमा कानुनी समस्या थिएन, तर, बोर्डले नै समर्थन नगरेपछि कानुनी र नैतिक अप्ठेरो परेको हुनसक्छ ।’
महालक्ष्मी लाइफका संस्थापकहरुका अनुसार गत पुस २८ गतेको निर्वाचनमा धेरै चलखेल गर्ने प्रयास गरेकोले पनि उनको पद धरापमा परेको हो । गत निर्वाचनमा धेरै पक्षका लगानीकर्ताहरुलाई हुन्छ हुन्छ भन्दै आश्वासन दिएको र अन्तिममा भनेजस्तो नतिजा नआएकोेले पनि बोर्डले भट्टराईको नियुक्तीमा समर्थन जनाउन नसकेको बुझिएको छ । नयाँ निर्वाचित भएको सञ्चालक समितिले समर्थन गर्ने अवस्था नबन्नुमा तत्कालिन सिईओले साधारणसभामा खेलेको भूमिकालाई समेत जोडेर हेरिएको एक सञ्चालकले बीमापोष्टलाई जानकारी दिए ।
राजिनामा पछि निवर्तमान सिईओ रमेश कुमार भट्टराईले फोन स्वीच अफ गरेर बसेका छन् । सिईओ भट्टराईले तीन दिन पहिले नै राजिनामा दिएको स्रोतले जनाएको छ । राजिनामा दिए लगत्तै हिजो बसेको सञ्चालक समितिको बैठकले स्वीकृत गरी सन्तोष प्रसाईलाई निमित्त सिईओको जिम्मेवारी तोकको छ ।











