गोली हानेर गैंडा मारेको आरोपमा चितवनका खेसरबहादुर पक्राउ
११ माघ २०८०, बिहीबार १५:४५

काठमाडौं । गोली हानेर गैंडा मारेको आरोपमा चितवन राष्ट्रिय निकुञ्जले एक जनालाई पक्राउ गरेको छ। पूर्वी चितवनको राप्ती नगरपालिका–६ का टीकाराम भनिने खेसरबहादुर बोहोरालाई निकुञ्जले पक्राउ गरेको हो। निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार बोहोरालाई हेटौंडा उपमहानगरपालिका–२, चौकीटोलबाट पक्राउ गरिएको थियो।
२०७६ भदौ ३१ गते नवलपरासीको अमलटारी क्षेत्रमा गैंडा मारी खाग काटेर लगेको र २०७७ कात्तिक २० गते निकुञ्जको भोसाराघाटको आइल्यान्ड क्षेत्रमा गैंडालाई गोली हानी मारेर खाग काटी लगेको आरोपमा उनलाई पक्राउ गरिएको हो।
दुवै घटनामा बोहोरासहित अन्य २४ जना रहेको सूचना अधिकारी तिवारीले बताए । घटनामा संलग्न बोहोरा सहित २१ जना पक्राउ परिसकेका छन् भने अन्य तीन जना फरार छन्।












