प्रधानमन्त्री प्रचण्ड नुवाकोटमा, उत्पादन वृद्धि र रोजगारी सिर्जनामा जोड

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नुवाकोटमा पुगेका छन् । आठौं नुवाकोट महोत्सवमा सहभागि हुन प्रधानमन्त्री प्रचण्ड नुवाकोट पुगेका हुन् ।
महोत्सवलाई सम्बोधन गर्दै प्रचण्डले आगामी बजेट उत्पादन वृद्धि र रोजगारी सिर्जनामा जोड दिने बताएका छन् । अबको बजेट कृषि उत्पादन वृद्धि हुनेगरी निर्माण हुने उनले तर्क गरे । प्रचण्ड भने, – ‘राष्ट्रिय बजेट प्रणालीमा आमूल परिवर्तन गर्ने प्रक्रिया अघि बढेको छ । अब यो परम्परागत बजेट प्रणालीलाई रुपान्तरण गर्दैछौं । सरकारको नीति तथा कार्यक्रम र बजेट निर्माणका लागि सबै क्षेत्रसँग छलफल गर्ने र सुझाव लिने काम भईरहेको छ ।’
अर्थतन्त्र लयमा फर्कि सकेको र अहिले अधिकांश सूचक उत्साहजन रहेको बताए । ‘अर्थतन्त्रका सूचक धेरै उत्साहजनक रहेका छन्, विदेशी मुद्राको सञ्चिती तथा पर्यटकको आगमन बृद्धि भएको छ’, प्रधानमन्त्रीले प्रचण्डले भने, ‘यसले अर्थतन्त्रलाई सही बाटोमा ल्याउन मद्धत गरेको छ, पछिल्लो समय राजस्व पनि वृद्धि भएको छ ।
बजेट निर्माण प्रक्रिया अगाडि बढीको बताउँदै प्रधानमन्त्रीले नीति तथा कार्यक्रममा नुवाकोटले प्राथमिकता पाउने विश्वास दिलाएका छन् । प्रधानमन्त्री प्रचण्डले धार्मिक, ऐतिहासिक, कृषि, पर्यटन व्यवसाय र कला संस्कृतिको विकासमा सरकारले सहयोग गर्ने उल्लेख गरे ।












