काठमाडौंमै लुकेर बसेका पूर्वमन्त्री दीपक मनाङे पक्राउ

२७ कार्तिक २०८१, मंगलवार ११:१६

काठमाडौं । गण्डकी प्रदेशका पूर्वमन्त्री तथा प्रदेशसभा सदस्य दीपक मनाङे (राजीव गुरुङ) पक्राउ परेका छन्। उनलाई आज काठमाडौंको सानो भर्याङबाट प्रहरीले नियन्त्रणमा लिएको हो।

दीपक मनाङेलाई ज्यान मार्ने उद्योगमा दोषी ठहर गर्दै सर्वोच्च अदालतले कात्तिक २० गते फैसला सुनाएको थियो। न्यायाधीश डा. नहकुल सुवेदी र टेकप्रसाद ढुंगानाको इजलासले तत्कालीन पाटन पुनरावेदन अदालत (हाल उच्च अदालत पाटन) को २०६९ सालको फैसलालाई सदर गरेको हो। उच्च अदालतले उनलाई ५ वर्ष कैद सजाय तोकेको थियो।

२०६१ सालमा दीपक मनाङेको समूहले मिलन चक्रे भनिने मिलन गुरुङमाथि तरबारले आक्रमण गरेको घटनामा उनी दोषी ठहर भएका थिए। जिल्ला अदालत काठमाडौंले यस घटनामा कर्तव्य ज्यानको आरोपलाई घटाएर कुटपिटमा सीमित गर्दै मनाङेलाई २ वर्षको सजाय सुनाएको थियो भने अन्य अभियुक्तहरूलाई सफाइ दिइएको थियो।

पुनरावेदन अदालत पाटनले उक्त फैसलालाई उल्ट्याउँदै ०६९ सालमा मनाङेलाई ज्यान मार्ने प्रयासको आरोपमा ५ वर्षको सजाय सुनाएको थियो। सर्वोच्चमा मुद्दा विचाराधीन रहँदै गर्दा मनाङे गण्डकी प्रदेशसभा सदस्य बने र पटक पटक मन्त्री समेत भएका थिए।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*