धरौटीको कागज लुकाएर ३८ लाख हिनामिना गरेको आरोपमा तत्कालीन सचिवविरुद्ध मुद्दा

काठमाडौं । साविक आदर्श गाविस भवानीपुर जीतपुर, बारा (हाल जीतपुरसिमरा उपमहानगरपालिका) का तत्कालीन सचिव आस महमद अन्सारीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सार्वजनिक कागजात लुकाएर सरकारी सम्पत्ति हिनामिना गरेको आरोपमा मुद्दा दायर गरेको छ।
अन्सारीले गुदरी बजार र मिना बजारका सटरहरू उपभोक्तालाई भाडामा दिने प्रक्रिया अपारदर्शी राखेको, उपभोक्ताबाट लिएको धरौटी रकमको कागजात लुकाएर रकम हिनामिना गरेको दाबी सहित अख्तियारले उनीविरुद्ध मुद्दा चलाएको हो।
उनले आर्थिक वर्ष २०६४/६५ मा १२१ जना उपभोक्ताबाट धरौटी वापत लिएको ३८ लाख ३० हजार ५ सय रुपैयाँ साविक गाविसको धरौटी खातामा जम्मा गर्नुपर्नेमा त्यसो नगरी कागजात नै गायब बनाएर रकम हिनामिना गरेको अनुसन्धानमा खुलेको छ।
अख्तियारले उनलाई भ्रष्टाचार बराबरको बिगो कायम गरी सोमबार विशेष अदालत काठमाडौंमा भ्रष्टाचारको मुद्दा दर्ता गरेको हो।











