तेलको नाममा अब भ्रमको व्यापार बन्द, तोरीदेखि सूर्यमुखीसम्म नयाँ मापदण्ड

काठमाडौं । सरकारले खाने तेलको गुणस्तर, उत्पादन प्रक्रिया र बजारमा हुने बिक्री–वितरणलाई थप व्यवस्थित गर्ने तयारी गरेको छ । नेपाल गुणस्तर तथा नापतौल विभागले तोरी, भटमास (सोयाबिन) र सूर्यमुखी तेलका लागि परिमार्जित गुणस्तर मापदण्डको अन्तिम मस्यौदा तयार पार्दै उपभोक्ताको स्वास्थ्यसँग प्रत्यक्ष जोडिएका विषयमा कडाइ गर्न लागेको हो ।
नयाँ व्यवस्थाले खाने तेललाई उत्पादन प्रक्रियाका आधारमा मात्र छुट्याउने छैन, त्यसको प्रयोगसम्बन्धी अवस्था पनि स्पष्ट पार्नेछ । अर्थात् बजारमा पुग्ने तेलमध्ये कुन तेल सिधै खान मिल्ने हो र कुन तेल थप प्रशोधनपछि मात्र प्रयोग गर्नुपर्ने हो भन्ने कुरा उत्पादन र प्याकेजिङमै छुट्याउनुपर्ने व्यवस्था प्रस्ताव गरिएको छ ।
विभागको प्राविधिक समितिले तोरीको तेलका लागि ‘नेपाल गुणस्तर ०३ : २०३५ (दोस्रो संशोधन : २०८३)’ अन्तर्गत नयाँ विशिष्टीकरण तयार गरेको छ । प्रस्तावित मापदण्डअनुसार तोरीको तेललाई उत्पादन विधिका आधारमा ‘एक्स्प्रेस’ र ‘सल्भेन्ट–एक्सट्र्याक्टेड’ गरी वर्गीकरण गरिनेछ ।
एक्स्प्रेस विधिबाट निकालिएका रिफाइन्ड, भर्जिन तथा एक्स्पेलर तेललाई सिधै मानव उपभोगका लागि योग्य मानिनेछ । सल्भेन्ट प्रक्रियाबाट उत्पादित रिफाइन्ड तोरीको तेल पनि प्रत्यक्ष उपभोग गर्न मिल्ने श्रेणीमा पर्नेछ । तर यही प्रक्रियाबाट उत्पादित ‘ग्रेड–१’ तेल भने प्रशोधन नगरी सिधै खान नमिल्ने व्यवस्था गरिएको छ ।
प्रत्यक्ष उपभोगका लागि उपयुक्त नभएको यस्तो तेल उपभोक्तालाई लक्षित गरी साना प्याकेटमा बिक्री गर्न नपाइने प्रस्ताव गरिएको छ । त्यस्ता तेल औद्योगिक प्रयोजन वा थप प्रशोधनका लागि मात्र प्रयोग गर्नुपर्नेछ । कन्टेनरमै कम्तीमा ५० मिलिमिटर उचाइका ठूला अक्षरमा अंग्रेजी भाषामा ‘नट फर डाइरेक्ट इडिबल कन्जम्प्सन’ अर्थात् ‘सिधै खानका लागि होइन’ भन्ने चेतावनी अनिवार्य रूपमा उल्लेख गर्नुपर्नेछ ।
तोरीको तेलको शुद्धताका विषयमा पनि नयाँ मापदण्डले स्पष्ट सीमा तोकेको छ । तेलमा आर्जेमोन मेक्सिकाना जस्ता स्वास्थ्यका लागि हानिकारक पदार्थ वा अन्य अखाद्य तेल मिसिएको हुनु नहुने व्यवस्था गरिएको छ । तेलको पेरोक्साइड भ्यालु अधिकतम १० मिलिइक्विभ्यालेन्टसम्म कायम गर्नुपर्ने प्रस्ताव छ । त्यसैगरी सिसा, आर्सेनिक, क्याडमियम र पाराजस्ता विषाक्त धातुको मात्रा पनि तोकिएको सीमाभन्दा बढी हुन नहुने व्यवस्था राखिएको छ ।
भटमास तेलका लागि पनि विभागले छुट्टै संशोधित मापदण्ड अघि सारेको छ । ‘नेपाल गुणस्तर १०३ : २०४२ (पहिलो संशोधन : २०८३)’ अन्तर्गत तयार गरिएको मस्यौदाले सल्भेन्ट एक्स्ट्र्याक्सन विधिबाट उत्पादित भटमास तेललाई रिफाइन्ड, डिगम्ड र ग्रेड–१ गरी विभिन्न श्रेणीमा विभाजन गरेको छ ।
यीमध्ये रिफाइन्ड भटमास तेललाई मात्र सिधै खान मिल्ने तेलका रूपमा वर्गीकरण गरिएको छ । डिगम्ड र ग्रेड–१ भने प्रत्यक्ष उपभोगका लागि नभई वनस्पति घिउ वा रिफाइन्ड तेल उत्पादन गर्ने कच्चापदार्थका रूपमा प्रयोग गर्नुपर्नेछ । त्यसकारण यस्ता तेललाई सामान्य उपभोक्ताले खरिद गर्ने खुद्रा प्याकेटमा राखेर बिक्री गर्न नपाइने व्यवस्था प्रस्ताव गरिएको छ ।
प्रत्यक्ष खान नमिल्ने भटमास तेलको कन्टेनरमा पनि स्पष्ट चेतावनी अनिवार्य हुनेछ । यसबाट उद्योग र उपभोक्ताबीच उत्पादनको वास्तविक प्रकृति लुकाउने वा अन्य श्रेणीको तेलका रूपमा बिक्री गर्ने सम्भावना घटाउने उद्देश्य विभागको देखिन्छ ।
भटमास तेलको खाद्य सुरक्षाका लागि अफ्लाटक्सिनको अधिकतम सीमा ३० माइक्रोग्राम प्रतिकिलो तोकिएको छ । रिफाइन्ड तेलमा हेक्सेनको मात्रा ५ पीपीएम तथा फस्फोरस अधिकतम १२ पीपीएम कायम गर्नुपर्ने व्यवस्था मस्यौदामा समेटिएको छ ।
सूर्यमुखी तेलमा पनि यही किसिमको वर्गीकरण र गुणस्तर नियन्त्रण अघि बढाइएको छ । विभागले सूर्यमुखी तेलसम्बन्धी विद्यमान मापदण्डको पहिलो संशोधनका लागि मस्यौदा तयार गरेको हो । प्रस्तावअनुसार सूर्यमुखी तेललाई पनि एक्स्प्रेस र सल्भेन्ट एक्स्ट्र्याक्टेड गरी दुई मुख्य समूहमा विभाजन गरिनेछ ।
एक्स्प्रेस प्रक्रियाबाट उत्पादित ग्रेड–१ तथा दुवै प्रक्रियाबाट प्राप्त रिफाइन्ड सूर्यमुखी तेललाई सिधै खान मिल्ने श्रेणीमा राखिएको छ । तर सल्भेन्ट एक्स्ट्र्याक्टेड प्रक्रियाबाट उत्पादित ग्रेड–१ तेललाई थप प्रशोधन नगरी प्रत्यक्ष उपभोग गर्न नमिल्ने व्यवस्था गरिएको छ । त्यस्तो तेल उपभोक्ताका लागि तयार पारिएको खुद्रा प्याकमा बिक्री गर्न नपाइने र कन्टेनरमै मेट्न नसकिने मसी प्रयोग गरी स्पष्ट चेतावनी लेख्नुपर्नेछ ।
सूर्यमुखी तेलमा कृत्रिम रङ वा कृत्रिम स्वाद मिसाउन नपाइने व्यवस्था पनि प्रस्ताव गरिएको छ । यसको पेरोक्साइड भ्यालु अधिकतम १० कायम गर्नुपर्नेछ भने अफ्लाटक्सिनको मात्रा ३० माइक्रोग्राम प्रतिकिलोभन्दा कम हुनुपर्ने सीमा तोकिएको छ ।
नयाँ मापदण्डको अर्को महत्वपूर्ण पक्ष तेलको गुणस्तर मात्र नभई त्यसको प्रचार–प्रसार र उपभोक्तासम्म पुग्ने प्रस्तुतिमा समेत कडाइ गर्नु हो । उत्पादकले आफ्नो उत्पादनलाई सामान्य तेलभन्दा असाधारण रूपमा स्वस्थ, सुरक्षित वा विशेष भएको भ्रम सिर्जना गर्ने किसिमका शब्द प्रयोग गर्न नपाउने प्रस्ताव गरिएको छ ।
मस्यौदाले ‘सुपर–रिफाइन्ड’, ‘एक्स्ट्रा–रिफाइन्ड’, ‘माइक्रो–रिफाइन्ड’, ‘डबल–रिफाइन्ड’ र ‘अल्ट्रा–रिफाइन्ड’ जस्ता शब्द प्रयोगमा रोक लगाएको छ । त्यसैगरी ‘एन्टी–कोलेस्टेरोल’, ‘कोलेस्टेरोल फाइटर’, ‘मुटुलाई शान्त पार्ने’, ‘कोलेस्टेरोल फ्रेन्डली’ तथा ‘स्याचुरेटेड फ्याट फ्री’ जस्ता स्वास्थ्यसम्बन्धी दाबी गर्ने शब्दावली पनि प्याकेजिङ तथा विज्ञापनमा प्रयोग गर्न नपाइने व्यवस्था गरिएको छ ।
तेलको प्याकेजिङमा प्रयोग हुने कन्टेनरलाई पनि मापदण्डभित्र ल्याइएको छ । उत्पादकले नेपाल गुणस्तर प्रमाणित टिन वा प्लास्टिकका कन्टेनर मात्र प्रयोग गर्नुपर्नेछ । एकपटक तेल वा अन्य सामग्री राखेर प्रयोग भइसकेका टिन तथा प्लास्टिकका भाँडालाई पुनः खाने तेल प्याक गर्न प्रयोग गर्न पूर्णरूपमा रोक लगाउने प्रस्ताव गरिएको छ ।
यस व्यवस्थाले पुराना कन्टेनर सफा गरेर पुनः बजारमा पठाउने अभ्यासलाई नियन्त्रण गर्ने अपेक्षा गरिएको छ । विशेषगरी खाद्य वस्तुको प्याकेजिङमा प्रयोग हुने सामग्रीको स्वच्छता र सुरक्षा कायम राख्न पुनःप्रयोग हुने कन्टेनरमाथि कडाइ गर्न खोजिएको हो ।
उत्पादनको पहिचान र ट्रेसिङ सहज बनाउन कन्टेनरको बाहिरी भागमा पनि अनिवार्य विवरण राख्नुपर्नेछ । उत्पादकको नाम र ठेगाना, ब्याच नम्बर, उत्पादन भएको महिना वा वर्ष तथा खुद तौल उपभोक्ताले सहजै पढ्न सक्ने गरी नेपाली वा अंग्रेजी भाषामा स्पष्ट रूपमा उल्लेख गर्नुपर्ने व्यवस्था प्रस्ताव गरिएको छ ।











