४०० केभी लप्सीफेदी सबस्टेसन निर्माण धमाधम, आगामी पुसभित्र सम्पन्न गर्ने लक्ष्य

काठमाडौँ । काठमाडौंको पूर्वीभेगस्थित शंखरापुर नगरपालिका–३ बोझिनीमा ४०० केभी लप्सीफेदी सबस्टेसन निर्माण धमाधम भइरहेको छ । तामाकोशी तथा सुनकोशी नदी र तिनीहरुका सहायक खोलाहरुमा निर्माण भएका तथा हुने जलविद्युत आयोजनाहरुको विद्युत् काठमाडौं उपत्यकामा ल्याउन र स्थानीय रुपमा आपूर्तिका लागि ‘ग्याँस इन्सुलेटेड सबस्टेसन (जिआईएस) प्रविधिमा आधारित ४००/२२०, २२०/१३२ र १३२/११ केभी तहको लप्सीफेदी सबस्टेसन निर्माणाधीन छ । सबस्टेसन निर्माण आगामी पुसभित्र (डिसेम्बर २०२५) सम्पन्न गर्ने लक्ष्यकासाथ काम भइरहेको छ ।
स्थानीय समस्याको बाबजुद करिब एक वर्षअघि सुरु भएको सबस्टेसन निर्माण हाल पूर्ण रुपमा (फूल फेज)मा भइरहेको छ । करिब १७२ रोपनी जग्गामा निर्माणाधीन लप्सीफेदी सबस्टेसन काठमाडौं उपत्यकामा विद्युत् आपूर्तिका लागि सबैभन्दा ठूलो हब हो ।
मानवबस्तीमा सबस्टेसन निर्माण गर्न नहुने र यसलाई अरु नै ठाउँमा सार्नु पर्ने माग राख्दै केही स्थानीयबाट सबस्टेसन निर्माणमा लामो समयदेखि अवरोध हुँदै आएको थियो । सबस्टेसन निर्माणस्थलको जग्गा अधिग्रहण गर्दा सम्बन्धित जग्गाधनीहरुले राजीखुसीले मुआब्जा तथा क्षतिपूर्ति बुझेको र प्रारम्भिक वातावरणीय परीक्षण(आईई) तथा पूरक आईईलगायतका सम्पूर्ण कानूनी प्रक्रिया पूरा गरी उपलब्ध विकल्पहरुमध्ये सबैभन्दा उत्तम बोझिनीलाई सबस्टेसन निर्माणस्थल छनोट गरिएको थियो । स्थानीयले उठाएका जायज मागलाई सम्बोधन गर्दै सबस्टेसन निर्माण भइरहेको छ ।
खिम्ती–बाह्रबिसे– लप्सीफेदी सबस्टेसन आयोजनाअन्तर्गत ४००/२२० केभी लप्सीफेदी सबस्टेसनको नियन्त्रण कक्ष, जिआइएसका उपकरणहरु रहने भवनलगायतका सिभिल संरचनाहरुको निर्माण करिब ४० प्रतिशत सकिएको छ । सबस्टेसनमा रहने पावर ट्रान्सफर्मर,जिआईएस, कन्ट्रोल प्यानललगायतका सम्पूर्ण उपकरणहरुको आपूर्ति करिब ८० प्रतिशत भइसकेको छ । आयोजनाअन्तर्गतका खिम्ती र बाह्रबिसे सबस्टेसन पनि निर्माणाधीन छन् ।













