पाथीभरा केवलकार विवादः ठेकेदार समूह गुन्डा बोक्दै, स्थानिय र पत्रकारमाथि कुटपिट

९ फाल्गुन २०८१, शुक्रबार १७:३६

काठमाडौं । ताप्लेजुङस्थित पाथीभरा केवलकार निर्माणको विरोध गर्दै आएका स्थानीय प्रदर्शनकारीहरूमाथि दमन भएको छ। स्थानीय समुदाय र संरक्षणकर्मीहरूले धार्मिक तथा प्राकृतिक सम्पदाको संरक्षण गर्न केवलकारको विरोध गर्दै आएका थिए। तर, व्यवसायीलाई फाइदा पुर्याउने पोस्न सरकारले प्रदर्शनकारीहरूमाथि बल प्रयोग गरिरहेको संघर्ष समितिले आरोप लगाएको छ। केबलकार खारेजी संघर्ष समितिले पत्रकार सम्मेलन गर्दै यस्तो बताएका हुन् ।

पाथीभरा केवलकार निर्माणको जिम्मा लिएको आइएमई समूहका अध्यक्ष चन्द्र ढकाल नेतृत्वको टोलीले विरोध दबाउन गुन्डा परिचालन गरेको संघर्ष समितिले जनाएको छ। पत्रकारहरू रिपोर्टिङका लागि घटनास्थल पुगेका बेला उनीहरूमाथि नियोजित आक्रमण भएको बताइएको छ। विरोध प्रदर्शनको समाचार संकलन गरिरहेका पत्रकारहरूलाई क्यामेरा खोस्ने, रिपोर्टिङ सामग्री नष्ट गर्ने र अपहरणको प्रयास गर्ने जस्ता कार्य गरिएको छ। व्यवसायी समूहले सुरक्षाकर्मीको उपस्थितिमै पत्रकारमाथि कुटपिट गराएको संघर्ष समितिको दाबी छ।

संघर्ष समितिका अनुसार केवलकार निर्माणका लागि व्यापक रूपमा रुख कटानी हुँदा जैविक विविधतामा गम्भीर असर परेको छ। लोपोन्मुख चराचुरुंगी तथा वन्यजन्तु संकटमा पर्ने खतरा रहेको चेतावनी दिएका छन्। राष्ट्रिय फूल समेत काटिँदा डाँफे जस्ता संरक्षित पक्षी प्रभावित हुने अवस्था आएको छ। स्थानीय बासिन्दाले धार्मिक क्षेत्रको मौलिकता बिग्रिने भन्दै विरोध जनाइरहे पनि राज्य व्यवसायीको पक्षमा उभिएर बल प्रयोग गरिरहेको उनीहरूको आरोप छ।

पत्रकारहरूमाथिको आक्रमणबारे सार्वजनिक गरिएको भिडियो फुटेजमा व्यवसायी समूहले सुरक्षाकर्मीको आँखा अगाडि नै मिडियाकर्मीमाथि दमन गरेको देखिन्छ। संघर्ष समितिले पत्रकारहरूमाथि भएको आक्रमणबारे कानुनी कारबाहीको माग गरेको छ। घटनाबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा स्थानीयहरूले व्यवसायीहरूले नाङ्गो खुकुरी देखाएर डर धम्की दिने र प्रदर्शन दबाउने प्रयास गरिरहेको बताएका छन्।

प्रहरी प्रशासनले विरोध दबाउन व्यवसायी समूहलाई संरक्षण दिइरहेको संघर्ष समितिको आरोप छ। केवलकार निर्माण रोक्न संघर्षरत स्थानीयहरूमाथि निरन्तर धरपकड गरिँदै आएको छ। केवलकारको विरोध गर्नुको मुख्य कारण धार्मिक र प्राकृतिक सम्पदा संरक्षण भए पनि सरकार व्यवसायीलाई फाइदा पुग्ने गरी सर्वसाधारणको आवाज दबाइरहेको स्थानीयको भनाइ छ।

पत्रकारहरूका अनुसार विरोध प्रदर्शनका क्रममा खिचिएका भिडियो, फोटो, र रिपोर्टिङ सामग्री खोस्ने कार्य भइरहेको छ। सुरक्षाकर्मीको उपस्थितिमै पत्रकारमाथि आक्रमण हुनु गम्भीर विषय भएको उनीहरूले बताएका छन्। संघर्ष समितिले केवलकार रोक्नका लागि अझै कडा आन्दोलन गर्ने चेतावनी दिएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*