पाथिभरा केवलकार विवादः आन्दोलन उग्र हुन थालेपछि अनिश्चितकालीन निषेधाज्ञा

११ फाल्गुन २०८१, आईतवार १२:२५

काठमाडौँ ।  ताप्लेजुङ सदरमुकाम फुङलिङ र काफ्लेपार्टी क्षेत्रमा आजदेखि निषेधाज्ञा लागू गरिएको छ। केबलकार सञ्चालनसम्बन्धी विवादका कारण स्थिति तनाबग्रस्त बनेपछि जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले निषेधाज्ञा जारी गरेको हो।

जिल्ला प्रशासन कार्यालयबाट जारी आदेशअनुसार निषेधाज्ञा आज बिहान ५ बजेदेखि अर्को आदेश नभएसम्म लागु हुनेछ। निषेधाज्ञाअन्तर्गत तोकिएको क्षेत्रमा पाँच जनाभन्दा बढी भेला हुन, सभा, जुलुस वा घेराउ गर्न नपाइने व्यवस्था गरिएको छ।

प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले निषेधाज्ञा जारी गर्नुको कारणबारे जानकारी दिँदै भने, ‘फुङलिङ बजार क्षेत्रमा प्रदर्शन र जुलुस हुन सक्ने अवस्थाले शान्ति सुरक्षा खल्बलिन सक्ने देखिएकाले निषेधाज्ञा जारी गरिएको हो। निर्धारित क्षेत्रभित्र कुनै पनि प्रकारको भीडभाड नगर्न सबैलाई अनुरोध छ। आदेशको उल्लंघन गर्ने वा कार्यान्वयनमा अवरोध गर्ने व्यक्ति वा समूहलाई प्रचलित कानुनअनुसार कारबाही गरिनेछ।’

प्रशासनले निषेधाज्ञा लागू हुने चार किल्लासमेत तोकेको छ। फुङलिङ बजार क्षेत्र र काफ्लेपार्टी – बल्लुडाँडा क्षेत्रमा यो आदेश लागू हुनेछ। फुङलिङ बजार क्षेत्रअन्तर्गत पूर्वमा सल्लेरी, पश्चिममा घोडेचौर (थलाङ धारा क्षेत्रसम्म), उत्तरमा उकालीपानी र दक्षिणमा शेर्पा टोल (भेटनरी कञ्चनजंघा टोल) सम्म निषेधाज्ञा लागु हुनेछ।

काफ्लेपार्टी – बल्लुडाँडा क्षेत्रमा पूर्वतर्फ पर्यटक प्रहरी भवनको १०० मिटर इलाका, पश्चिममा डडेले इलाका, उत्तरमा केबलकार बेस स्टेशन तथा पानी मुहान क्षेत्रको १०० मिटर र दक्षिणमा नयाँ बसपार्क इलाका (जंगल इलाका समेत) निषेधित क्षेत्र घोषित गरिएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*