एलन मस्कले अमेरिकी संघीय कर्मचारीहरूलाई कामको विवरण दिन चेतावनी, अनुपस्थित भए जागिर गुम्ने

११ फाल्गुन २०८१, आईतवार १३:०३

काठमाडौँ ।  अमेरिकी अरबपति तथा राष्ट्रपति डोनाल्ड ट्रम्पका सल्लाहकार एलन मस्कले शनिबार घोषणा गर्दै सबै संघीय कर्मचारीहरूले आफ्नो हप्ताभरि गरेको कामको विस्तृत विवरण दिनुपर्ने बताएका छन्। यदि कसैले यस्तो विवरण पेश नगरेमा त्यसलाई राजीनामा दिएको मानिने चेतावनी उनले दिएका छन्।

मस्कलाई अमेरिकी सरकारको खर्च र फजुल खर्च कटौती गर्ने जिम्मेवारी दिइएको छ। यसै सन्दर्भमा उनले सामाजिक सञ्जाल ‘एक्स’ मा पोस्ट गर्दै, ‘राष्ट्रपतिको निर्देशनअनुसार सबै संघीय कर्मचारीहरूले चाँडै नै एक इमेल प्राप्त गर्नेछन्, जसमा उनीहरूले पछिल्लो हप्ता के-कस्ता उपलब्धिहरू हासिल गरे भन्ने जानकारी दिनुपर्नेछ। जवाफ नआएमा, त्यसलाई राजीनामा दिएको रूपमा लिइनेछ’ भनेका छन्।

तर, उनले कार्य विवरण पेश गर्ने ढाँचा वा म्यादबारे कुनै स्पष्ट जानकारी दिएका छैनन्। यसअघि, अमेरिकी रक्षा विभागले आफ्ना नागरिक कर्मचारीहरूको संख्या पाँच प्रतिशतले घटाउने निर्देशन पाएको थियो, जुन आगामी हप्ताबाट लागू हुने बताइएको छ। ट्रम्प प्रशासनले पहिले नै परिक्षण अवधिमा रहेका संघीय कर्मचारीहरूलाई बर्खास्त गर्न थालेको छ।

यसअघि, राष्ट्रपति ट्रम्पले मस्कलाई Department of Government Efficiency (DOGE) को नेतृत्व गर्ने जिम्मेवारी दिएका थिए। यस विभागको मुख्य उद्देश्य सरकारी खर्च कटौती गर्नु, फजुल खर्च घटाउनु, तथा सम्भावित भ्रष्टाचार नियन्त्रण गर्नु हो। मस्कको नेतृत्वमा संघीय कर्मचारीहरूलाई सामूहिक रूपमा बर्खास्त गर्ने प्रक्रिया अघि बढाइएको छ, जसलाई विभिन्न पक्षबाट विरोध भइरहेको छ।

मस्कको खर्च कटौती नीति अदालतसम्म पुगेको छ, जहाँ केही मुद्दाहरूमा उनी सफल भएका छन् भने केहीमा अदालतले संघीय कर्मचारीहरूको पक्षमा आदेश दिएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*