टाटाको बहुप्रतिक्षित एसयूभी कर्भ ईभी नेपाली बजारमा: ५०२ किमी रेन्ज, मूल्य कति ?

काठमाडौं । टाटाको बहुप्रतीक्षित एसयूभी कर्भ ईभी नेपाली बजारमा भित्रिएको छ। टाटाका लागि नेपालका आधिकारिक वितरक सिप्रदी ट्रेडिङले यसलाई सार्वजनिक गर्दै मूल्य घोषणा गरेको छ।
कम्पनीका अनुसार नेपालमा कर्भ ईभीको टप भेरियन्ट मात्र उपलब्ध हुनेछ। स्टाइलिश डिजाइन र अत्याधुनिक प्रविधिसहितको यो गाडी नेपाली बजारमा लोकप्रिय बन्ने अपेक्षा गरिएको छ। भारतमा भने कर्भ ईभी पाँच भेरियन्टमा उपलब्ध छ।
यो कुप स्टाइलको एसयूभी हो, जसले आधुनिक इन्टेरियर र प्रिमियम प्रविधि समेटेको छ। गाडीभित्र १२.३ इन्चको फ्लोटिङ इन्फोटेन्मेन्ट टचस्क्रिन छ भने उच्च भेरियन्टमा १०.२५ इन्चको डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर दिइएको छ। दुई रङ संयोजनमा आउने इन्टेरियर सेतो र खैरो विकल्पमा उपलब्ध हुनेछ।

सुरक्षालाई प्राथमिकता दिँदै टाटाले यसमा ६ वटा एयरब्याग, इलेक्ट्रोनिक पार्किङ ब्रेक, हिल स्टार्ट र डिसेन्ट असिस्ट, चालकको ध्यान भंग भएको पहिचान गर्ने प्रविधि, र ब्लाइन्ड स्पट मोनिटरजस्ता फिचर समावेश गरेको छ। अटोमेटिक इमर्जेन्सी ब्रेकिङ सिस्टमसमेत रहेको यस गाडीले सम्भावित ठक्करबाट जोगाउन स्वचालित ब्रेकिङ सुविधा प्रदान गर्नेछ।
ब्याट्री क्षमता अनुसार यस गाडीका दुई संस्करण उपलब्ध छन्— ४५ किलोवाट आवर र ५५ किलोवाट आवर। सानो ब्याट्री भेरियन्टले ४३० किलोमिटर रेन्ज दिनेछ भने ठूलो ब्याट्री भेरियन्टले ५०२ किलोमिटर रेन्ज दिनेछ। १२३ किलोवाट आवर मोटर पावर र २१५ एनएम टर्क क्षमतासहित आएको यो गाडीको ग्राउन्ड क्लियरेन्स १८६ एमएम रहेको छ।
यसलाई सुरक्षा मापदण्डमा समेत उच्च दर्जा दिइएको छ, जसअन्तर्गत यो कारले ५ स्टार सेफ्टी रेटिङ प्राप्त गरेको छ। नेपाली बजारमा उपलब्ध टप भेरियन्टको मूल्य ५९ लाख ९९ हजार रुपैयाँ निर्धारण गरिएको छ।













