कुलमान घिसिङलाई बर्खास्त गर्ने सरकारको अन्तिम तयारी

काठमाडौं । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज साँझ ५ बजे मन्त्रिपरिषद्को नियमित बैठक बस्ने भएको छ। बैठकका एजेन्डाबारे औपचारिक रूपमा खुलासा नगरिए पनि नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङबारे कुनै निर्णय हुन सक्ने चर्चा चलिरहेको छ।
सरकार र कुलमान घिसिङबीच पछिल्लो समय विवाद बढ्दै गएको छ। उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले केही दिनअघि संसदमा घिसिङले सरकारको निर्देशन नमानेको र प्रचारबाजीमा लागेको बताएका थिए।
स्रोतका अनुसार मन्त्री खड्काले घिसिङलाई हटाउने प्रस्ताव केही दिनअघि नै मन्त्रिपरिषद्मा पेश गरिसकेका छन्। यस विषयमा निर्णय हुनसक्ने अनुमान गरिए पनि सरकारले यसबारे कुनै आधिकारिक धारणा सार्वजनिक गरेको छैन।
यसैबीच, प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले सरकार घिसिङलाई षड्यन्त्रपूर्वक हटाउन लागेको भन्दै आपत्ति जनाएको छ। कुलमान घिसिङलाई हटाउने वा निरन्तरता दिने विषयमा आजको मन्त्रिपरिषद् बैठक निर्णायक बन्न सक्ने आँकलन गरिएको छ।













