पाथिभरामा केवलकार निर्माण तत्कालका लागि स्थगित, ‘नो केबलकार समूह’ लाई वार्तामा बोलायो

काठमाडौं । ताप्लेजुङको पाथीभरा (मुक्कुमलुङ) क्षेत्रमा निर्माणाधीन केबुलकारको विरोधमा रहेका ‘नो केबलकार समूह’ लाई सरकारले वार्तामा बोलाएको छ। गृहमन्त्रालयका सह-सचिव प्रेमप्रसाद भट्टराई संयोजक रहेको वार्ता टोलीले आन्दोलनरत पक्षलाई वार्ताका लागि निम्तो दिँदै निर्माण कार्य हाललाई स्थगित गर्ने जानकारी दिएको छ। सामाजिक, धार्मिक, सांस्कृतिक र स्थानीय समुदायका सरोकारलाई सम्बोधन गर्न वार्ता महत्वपूर्ण हुने भन्दै सरकारले संवादका लागि आग्रह गरेको हो।
यसअघि आन्दोलनरत पक्ष र सरकारी टोलीबीच भएका वार्ताहरु निष्कर्षमा पुग्न सकेका थिएनन्। माघ २२ गते भएको छलफलमा माघ २७ गते उच्चस्तरीय राजनीतिक वार्ता गर्ने सहमति भएको थियो। तर, निर्धारित मितिमा गृहमन्त्रालयका सह-सचिवको नेतृत्वमा वार्ता हुन लाग्दा आन्दोलनरत पक्षले राजनीतिक टोलीसँग मात्रै वार्ता गर्ने अडान राख्दै बैठक बहिष्कार गरेको थियो।
माघ १२ गते पाथीभरा क्षेत्रमा प्रहरी र ‘नो केबलकार समूह’ बीच झडप भएपछि विवाद अझ चर्किएको थियो। एक महिनासम्म समाधान निस्कन नसकेको यस विषयमा अहिले सडकदेखि संसदसम्म बहस चलिरहेको छ। स्थानीय समुदाय, धार्मिक आस्थाका समूह र पर्यावरणविद्हरूले विभिन्न कोणबाट विरोध जारी राखेपछि सरकार वार्तामार्फत समस्या समाधान गर्न सक्रिय देखिएको हो।














