नेपाल विद्युत प्राधिकरणलाई ९ करोड ७ लाख रुपैयाँ विदेशमा लगानी गर्न स्वीकृति

काठमाडौं । नेपाल सरकारले नेपाल विद्युत प्राधिकरणलाई ९ करोड ७ लाख ६ हजार ९ सय ६६ रुपैयाँ ३७ पैसा बराबरको लगानी विदेशमा गर्न स्वीकृति प्रदान गरेको छ। ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले यसबारे नेपाल राजपत्रमा सूचना प्रकाशित गर्दै जानकारी गराएको हो।
नेपाल-भारतबीचको ढल्केबर-मुजफ्फरपुर ४०० केभी अन्तरदेशीय विद्युत प्रसारण लाइन अन्तर्गत भारतीय खण्ड निर्माणका लागि स्थापित Cross Border Power Transmission (CPTC) कम्पनीको संस्थापक शेयर खरिद गर्न नेपाल विद्युत प्राधिकरणलाई लगानी स्वीकृति दिइएको हो।
प्राधिकरणले उक्त कम्पनीमा बिक्रीमा रहेको IL&FS Energy Development Company Limited (IEDCL) को संस्थापक शेयर खरिद गर्नेछ। प्राधिकरणले कूल २९ लाख ७३ हजार १ सय ६३ कित्ता संस्थापक शेयर प्रति कित्ता १९.०५ भारतीय रुपैयाँ दरमा खरिद गर्न स्वीकृति प्राप्त गरेको हो।
नेपाल सरकारको २०२१ को विदेशमा लगानी गर्न प्रतिबन्ध लगाउने ऐनअनुसार दफा ३ को उपदफा (२) अनुसार नेपाल विद्युत प्राधिकरणलाई उक्त लगानीको अनुमति दिने निर्णय गरिएको ऊर्जा मन्त्रालयले जनाएको छ।














