अमेरिका पठाइदिन्छु भन्दै १ करोड ४४ लाख ठगी गर्ने तीन जना पक्राउ

काठमाडौं । वैदेशिक रोजगारीका नाममा अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा रूकुम पश्चिमका मनिषराज खड्का, मधु कुमार खड्का र विरेन्द्र खड्का रहेका छन्। मनिषराज ललितपुरको महालक्ष्मी नगरपालिका९४ मा बस्दै आएका थिए भने मधु कुमार र विरेन्द्र काठमाडौं टोखा नगरपालिका क्षेत्रमा बसोबास गरिरहेका थिए।
उनीहरूले अमेरिका लैजान्छु भनी दुई व्यक्तिसँग १ करोड ४४ लाख ५० हजार रुपैयाँ लिएका थिए। रकम बुझेपछि सम्पर्कविहीन भएका उनीहरूविरुद्ध पीडितहरूले उजुरी दिएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुबाट खटिएको प्रहरी टोलीले मनिषराजलाई काठमाडौं महानगरपालिका ९ बाट तथा मधु कुमार र विरेन्द्रलाई टोखा नगरपालिका ८ बाट नियन्त्रणमा लिएको हो।
हाल उनीहरूलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर, काठमाडौं पठाइएको प्रहरीले जनाएको छ।












