नेपाली बजारमा ‘एमजी एस फाइभ’ ईभी सार्वजनिक, मूल्य ४३ लाखदेखि ५४ लाखसम्म

२३ फाल्गुन २०८१, शुक्रबार १०:५७

काठमाडौं । पारामाउन्ट मोटर्सले नेपालमा नयाँ विद्युतीय सवारी ‘एमजी एस फाइभ’ सार्वजनिक गरेको छ। बिहीबार राजधानीमा आयोजित एक कार्यक्रममार्फत उक्त ईभी नेपाली बजारमा भित्र्याइएको हो। कम्पनीका अनुसार अत्याधुनिक प्रविधि, उच्च कार्यक्षमता र यात्रुहरूका लागि सहज विशेषताहरूको समावेश रहेको यो मोडेल विद्युतीय गाडीको अनुभवलाई नयाँ स्तरमा पुर्याउनेछ।

पारामाउन्ट मोटर्सका महाप्रबन्धक सुनील बहादुर क्षेत्रीका अनुसार ‘एमजी एस फाइभ’ सुरक्षाको दृष्टिकोणले उन्नत हुनुका साथै आरामदायी यात्राका लागि डिजाइन गरिएको छ। नेपालमा ईभीको अवधारणा नै बदल्ने खालको प्रविधि समेटिएको उनको दाबी छ।

दुई फरक ब्याट्री अप्शन, उच्च रेन्ज र गतिसीमा

एमजी एस फाइभ दुई फरक ब्याट्री क्षमतासहित उपलब्ध छ। ४९ किलोवाट आवर ब्याट्री भएका मोडेलहरू कम्फर्ट र डिलक्स गरी दुई भेरियन्टमा छन् भने ६२ किलोवाट आवर ब्याट्रीयुक्त मोडेल डिलक्स भेरियन्टमा मात्र उपलब्ध छ।

कम्पनीका अनुसार कम्फर्ट भेरियन्ट ३४० किलोमिटर र डिलक्स भेरियन्ट ४३० किलोमिटर रेन्ज प्रदान गर्छ। ९९ किलोवाट क्षमताको मोटर जडान गरिएको यस ईभीले २५० एनएम टर्क उत्पन्न गर्नेछ भने अधिकतम गति १७५ किलोमिटर प्रति घण्टा रहने बताइएको छ।

आधुनिक प्रविधि र लक्जरी सुविधाहरू

कम्पनीका अनुसार एमजी एस फाइभ विश्वकै सबैभन्दा पातलो ब्याट्रीयुक्त ईभी हो। गाडीमा रियर-ह्विल ड्राइभ सिस्टम, फाइभ-लिङ्क सस्पेन्सन, १२.८ इन्चको सेन्ट्रल टचस्क्रिन, १०.२५ इन्चको डिजिटल क्लस्टर डिस्प्ले, इन-बिल्ट एप्स (वाई-फाई, युट्युब, स्पोटिफाइ, टिकटक) र ४५३ लिटर बुट स्पेस जस्ता सुविधा उपलब्ध छन्। साथै, एमजी आईस्मार्ट एपको तीन वर्षसम्म निःशुल्क सब्सक्रिप्सन प्रदान गरिनेछ।

मूल्य विवरण

एमजी एस फाइभको मूल्य निम्नानुसार निर्धारण गरिएको छ:

-४९ किलोवाट आवर कम्फर्ट भेरियन्ट: ४३ लाख ९९ हजार रुपैयाँ

-४९ किलोवाट आवर डिलक्स भेरियन्ट: ४९ लाख ९९ हजार रुपैयाँ

-६२ किलोवाट आवर डिलक्स भेरियन्ट: ५४ लाख ९९ हजार रुपैयाँ

कम्पनीले एमजी एस फाइभलाई नेपाली बजारका लागि उपयुक्त बनाइएको दाबी गर्दै ग्राहकहरूलाई परीक्षण यात्राका लागि आमन्त्रण गरेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*