वन मुद्दाका फरार प्रतिवादी १० वर्षपछि पक्राउ

२३ फाल्गुन २०८१, शुक्रबार १२:१६

काठमाडौं । एक दशकअघिको वन पैदावार चोरी निकासी मुद्दामा संलग्न एक प्रतिवादीलाई प्रहरीले १० वर्षपछि पक्राउ गरेको छ। अर्घाखाँचीमा २०७१ सालमा दायर वन चोरी मुद्दाका फरार प्रतिवादी डम्वर सिंह क्षेत्रीलाई प्रहरीले फागुन २१ गते नियन्त्रणमा लिएर कैद भुक्तानीका लागि कारागार पठाएको हो।

स्थायी घर दाङ भएका सिंह हाल कपिलवस्तुको शिवराज नगरपालिका वडा नम्बर १ मा बस्दै आएका थिए। प्रहरीले उनलाई अर्घाखाँचीको पाणिनी गाउँपालिका वडा नं. ४ बाट पक्राउ गरेको हो। उनीविरुद्ध २०७१ साल वैशाख २३ गते अर्घाखाँची जिल्ला अदालतले तीन महिनाको कैद सजाय सुनाएको थियो। फैसलापछि फरार भएका उनी लामो सयमसम्म लुक्दै आएका थिए।

वन पैदावार चोरी निकासीसम्बन्धी यो मुद्दा २०७१ सालअघि अर्घाखाँची जिल्लाको सिद्धारा गाविसमा भएको वन तस्करी प्रकरणसँग जोडिएको छ। प्रहरीका अनुसार भानसिंह सुनार, उनका छोरा गोठबहादुर सुनार, लुकु रोका भन्ने लोकबहादुर थापा र डम्वर सिंह क्षेत्रीको मिलेमतोमा साल र जंगली सिसौको काठ चोरी गरी तस्करी गर्ने योजना बनाइएको थियो। भानसिंह सुनारले चोरखोलामा राष्ट्रिय वन क्षेत्र अतिक्रमण गरेर अस्थायी टहरा निर्माण गरेका थिए। यही टहरामा सालका ४१ थान चिरान काठ र जंगली सिसौका २ थान चिरान काठ लुकाएर राखिएको थियो।

प्रहरीले उक्त तस्करी योजना थाहा पाएपछि भानसिंह सुनार र गोठबहादुर सुनारलाई पक्राउ गरेको थियो भने लोकबहादुर थापा र डम्वर सिंह क्षेत्री फरार भएका थिए। लामो समयसम्म लुकेर बसेका डम्बर सिंह क्षेत्रीलाई प्रहरीले खोजी कार्य गरी पक्राउ गरेको हो। उनलाई अदालतमा पेश गरेर तीन महिनाको जेल सजाय भुक्तानका लागि अर्घाखाँची कारागार चलान गरिएको प्रहरीले जानकारी दिएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*