आलेको जवाफ दिदै मन्त्री दाहालले भने, ‘समयमा नै बानेडुंग्रीसैनमा पक्की पुल बनाउन निर्देशन दिएको छु’

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले डोटीको बानेडुंग्रीसैन अन्तर्गत सातनाली सडकखण्डमा निर्माणाधीन पक्की पुल समयमा नै सम्पन्न गर्ने निर्देशन दिएको बताएका छन् । आज प्रतिनिधि सभामा सांसद प्रेम आले मगरले न्यून समयमा गरेको ध्याकर्षणको जवाफ दिदै यस्तो बताएका हुन् ।
यसअघि फागुन ४ गते प्रतिनिधि सभाको न्यून समयमा बोल्दै डोटीका सांसद मगरले डोटीको बानेडुंग्रीसैन अन्तर्गत सातनाली सडकखण्डमा निर्माणाधीन पक्की पुल ठेक्का लागेको १० वर्षसम्म पनि २५ प्रतिशत काम मात्र सम्पन्न भएको बताउँदै असन्तुष्ट ब्यक्त गरेका थिए । उनले पुल निर्माणका लागि ८० लाख रुपैयाँ बजेट विनियोजन भइसकेको भए पनि ठेकेदारले काममा सक्रियता नदेखाउँदा पुलको काम अलपत्र परेको गुनासो राखेका थिए ।
उक्त कुराको जवाफ दिदै मन्त्री दाहालले आफ्नो ध्यानाकर्षण भएको बताएका हुन् । उनले, ‘यस कुरामा ध्यानाकर्षण भएको छ । यो आयोजनाको तत्काल निर्माण कार्य अगाडि बढाई समयमा सम्पन्न गर्ने प्रतिपद्दता ब्यक्त गर्ने चाहान्छु । समयमा नै सम्पन्न गर्ने निर्देशन समेत दिएको छ ।’
उक्त पुल निर्माण कम्पनी पुष्प राजेन्द्र जेभी हो । निर्माण व्यवसायी कम्पनी पुष्प राजेन्द्र जेभीका सञ्चालक भिमबहादुर साउद डडेल्धुरा कांग्रेस जिल्ला सभापति हुन् । साउद कांग्रेस सभापति शेर बहादुर देउवाका प्रिय ब्यक्ति हुन् । उनले उक्त आयोजना राजनीतिक आडमा अलपत्र पारेका छन् ।













