गभर्नरको नियुक्ति चाँडै हुन्छ: गृहमन्त्री लेखक

३० बैशाख २०८२, मंगलवार १६:१३

काठमाडौँ ।  गृहमन्त्री रमेश लेखकले नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्ति अब चाँडै हुने बताएका छन्। मोरङ कारागारको नयाँ भवन उद्घाटन र आइसीपीमा निर्मित वायरहाउस हस्तान्तरण कार्यक्रममा सहभागी हुन विराटनगर पुगेका मन्त्री लेखकले प्राविधिक कारणले ढिलाइ भए पनि अब नियुक्ति प्रक्रिया निष्कर्षमा पुग्ने स्पष्ट पारे।

उनका अनुसार राष्ट्र बैंक भित्रको आन्तरिक समस्या मुख्य कारण बनेको भए पनि सरकार छिट्टै गभर्नर नियुक्त गर्ने तयारीमा छ। उनले मुलुकको आर्थिक अवस्था क्रमशः लयमा फर्किरहेको दाबीसमेत गरे। गृहमन्त्री लेखकका अनुसार दश महिनाअघिको तुलनामा अहिलेको आर्थिक सूचकांकमा उल्लेखनीय सुधार आएको छ। ‘दश महिना पहिलाको आर्थिक अवस्था र अहिलेको अवस्थामा धेरै फरक देखिन्छ। विदेशी मुद्राको सञ्चिति बढेको छ र आर्थिक सूचकांक सकारात्मक बनेका छन्। यो राष्ट्र बैंकको तथ्यांक हो, मेरो व्यक्तिगत भनाइ होइन’ उनले स्पष्ट पारे।

राजनीतिक स्थिरता कायम गर्न गठबन्धन सरकारले महत्वपूर्ण भूमिका खेलेको जिकिर गर्दै मन्त्री लेखकले संविधान र लोकतान्त्रिक व्यवस्थाविरुद्धका गतिविधिलाई सरकार सहन तयार नरहेको बताए। ‘कुनै पनि वादका नाममा संविधान र गणतन्त्र विरोधी गतिविधि स्वीकार्य हुँदैन,’ भन्दै उनले वर्तमान सरकारले राजनीतिक स्थायित्व, सुशासन र कानुनी सुधारमा उल्लेखनीय काम गरेको बताए।

अख्तियार सम्बन्धी विधेयक मिलेमतोमा अड्किएको भन्ने प्रश्नमा उनले संसदमा छलफल जारी रहेको र भ्रष्टाचार निर्मूल पार्न सरकार प्रतिबद्ध रहेको बताए।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*