छरिएको पुँजी एकीकृत गरी लगानी बढाउने विषयमा सरकार प्रतिवद्ध छ: उद्योग मन्त्री भण्डारी

१ जेष्ठ २०८२, बिहीबार १३:२५

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले सरकार छरिएर रहेको पुँजीलाई एकीकृत गर्दै लगानी गर्ने वातावरण बनाइरहेको बताएका छन् । गैर आवासीय नेपाली सङ्घ (एनआरएनए) ग्लोबल कन्फरेन्स २०२५मा बोल्दै मन्त्री भण्डारीले एनआरएनएका तर्फबाट पुँजी एकीकृत गरी लगानीमैत्री वातावरण बनाउन आएका मागहरुका बिषयमा सरकार प्रतिवद्ध बताएका हुन् ।

मन्त्री भण्डारीले नेपालको आर्थिक विकास र समृद्धिमा गैर–आवासीय नेपालीहरूको भूमिका अत्यन्त महत्त्वपूर्ण रहेको बताएका छन् । वर्तमान सरकारले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकाङ्क्षा पूरा गर्न गैर आवासीय नेपालीहरूको ज्ञान, सीप, पुँजी र अनुभवलाई महत्त्वपूर्ण साझेदारीको रूपमा हेरेको उनको भनाई छ ।

उद्योग तथा अन्तर्राष्ट्रिय व्यापारको लागि आवश्यक पूर्वाधार विकास, उत्पादनशील अर्थतन्त्रमा युवा सहभागिता, स्टार्टअप र नवउद्यमहरूलाई प्रोत्साहन, उद्यमशीलता विकास, तथा उत्पादन र उत्पादकत्व वृद्धि गर्न मन्त्रालयले कार्य गरिरहेको मन्त्री भण्डारीले जानकारी दिए ।

उनले भने, ‘स्वदेशी उत्पादनलाई प्रोत्साहित गर्ने गरी छुट, सहुलियत, प्रोत्साहन लगायतका कार्यक्रमहरू सञ्चालन गरिएका छन् । मुलुकमा औद्योगिक लगानीको वातावरण सुधार गरी लगानीमैत्री वातावरण बनाउन, स्वदेशी लगानीलाई प्रोत्साहन गर्दै विदेशी लगानी आकर्षित गर्न, उत्पादन र उत्पादकत्व बढाउँदै रोजगारी सिर्जना तथा आयात व्यवस्थापन र निर्यात प्रवद्र्धनमार्फत व्यापार घाटा न्यूनीकरण गर्न विभिन्न नीतिगत एवं कानुनी सुधारका साथै व्यवसायमैत्री हुने गरी प्रक्रियागत सरलीकरण गरिएको छ ।’

मन्त्री भण्डारीले निर्यात प्रवद्र्धन गर्दै उपभोगमुखी आयात तथा उच्च व्यापार घाटालाई नियन्त्रण गर्न सरकारले गरेको प्रयासहरूले नतिजा हासिल गरेको बताए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*